काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । उनलाई काठमाडौँ काँडाघारीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगर ८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ । उनीविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय दाङमा गेहेन्द्रबहादुर बस्नेतको जाहेरी परेको थियो ।
उक्त मुद्दामा अनुसन्धानका लागि उच्च अदालत तुलसीपुरबाट यही फागुन २५ मा पक्राउ पूर्जी जारी भएकामा खोज तलासका क्रममा उनलाई काठमाडौँ महानगरपालिका ३२ काँडाघारीबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
इञ्जिनीयरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालीबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले सानिमा बैंकको आफ्नो खातामा रकम नभएको जानीजानी जाहेरवाला बस्नेतको सवारी साधन प्रयोग गरी भाडाबापतको रकममध्ये एक करोड आठ लाख ५७ हजारको चेक दिएका थिए ।
उक्त चेक नसाटिएपछि बैंकिङ कसुर गरेको आरोपमा प्रहरीमा परेको जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।