काठमाडौं- क्यान्सर आफैंमा गम्भीर रोग हो। शरीरमा विभिन्न आकारप्रकारका कोष तथा कोषिका हुन्छन्। तीमध्ये नयाँ बन्ने कोष र कोषिकाहरूको वृद्धिक्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ।
तर, खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकुलताका कारण कोष तथा कोषिकाहरूको वृद्धि अनियन्त्रित हुँदा साना गिर्खा बन्छन्। ती गिर्खामध्ये एकखाले हुन्छन्, सामान्य अवस्थाका। जो दुख्दैन र धिमा गतिमा मात्र बढ्छ। यसले शरीरलाई खासै हानी गरिररहेको हुँदैन। अर्कोखाले हुन्छन्, छिटोछिटो बढ्ने। एक स्थानबाट अर्कोमा सर्छन्। यस किसिमको गिर्खा नै क्यान्सर हो।
क्यान्सरको खास कारण भनेको हाम्रो खराब आनीबानी हो। यसमा खानपान, दिनचर्या, रहनसहन समेटिन्छन्। साथै बाह्य कुराले पनि क्यान्सर हुन सक्छ। जस्तै- वातावरण प्रदूषण, धुलोधुँवा, रसायन, विकिरण आदि। वंशानुगत कारणले पनि क्यान्सर हुन्छ।
कारण
चुरोट, खैनी, सूर्ति आदिको सेवनले क्यान्सर निम्त्याउँछ। यस्ता पदार्थमा हानिकारक रासायनिक तत्व हुन्छन्, जसले क्यान्सर गराउँछन्। जाँडरक्सीको सेवनले पनि क्यान्सर गराउँछ। खासगरी मुख, अन्ननली, पेट आदिको क्यान्सरमा मद्यपान नै जिम्मेवार रहेको पाइन्छ।
हामीले खानेकुरा सवै स्वस्थकर हुँदैनन्। र, अस्वस्थकर खानेकुरा क्यान्सरको कारक हुन्। बासी, सडेगलेको, ढुसी परेका, तारेको, डढेको आदि खानेकुराले क्यान्सर निम्त्याउँछ। तिनले कलेजो, आन्द्रा, आमाशय आदिलाई नष्ट गर्छन्।
वातावरण प्रदूषण पनि क्यान्सरको कारण बन्छ। धुलोधुँवाले फोक्सो साथै नाक, कान, घाँटीको क्यान्सर बढाइरहेको हुन्छ। घामको किरण पनि कतिपय अवस्थामा क्यान्सरको कारण बनेको छ। यस्तै, उपकरणीय विकिरणले पनि क्यान्सरको जोखिम बढाउँछ।
के गर्ने ?
– धुम्रपान र मद्यपान नगर्ने
– सडेगलेका, प्रशोधित खानेकुरा, जंकफुड नखाने
– शारीरिक रूपमा सक्रिय रहने, नियमित व्यायाम गर्ने
– तनाव नलिने
– शरीरमा अनावश्यक गाँठागुँठी आएमा र रंग परिवर्तन भएमा तुरुन्त परीक्षण गराउने
– महिलामा स्तन र पाठेघरको क्यान्सरको जोखिम बढी हुन्छ। त्यसैले बेलाबखतमा स्तन क्यान्सरका लागि मेमोग्राम र पाठेघरको लागि प्याप परीक्षण गराएर हेर्नुपर्छ। यस्तै, पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप पनि लगाउन सकिन्छ।
– वंशाणुगत क्यान्सर परिवारमा छ भने जोखिम उच्च हुन्छ। त्यसैले समयमै क्यान्सर छ कि छैन भनेर वर्षमा एकपटक जाँच गराउने।
– आफूलाई क्यान्सरसम्बन्धी कुनै शंका लागेमा चिकित्सकको सल्लाहबमोजिम लक्षणअनुसार जाँच गर्ने।
(सशस्त्र प्रहरी अस्पतालका फिजिसियन डा. झासँग नेपाली हेडलाइनकी अनु आचार्यले गरेको कुराकानीमा आधारित)