काठमाडौं- ललितपुर ग्वार्को चोकबाट सातदोबाटोतर्फ बढ्दा आइपुग्छ, आकाशे पुल। पुलबाट ठ्याक्कै दायाँ साइडमा थोरै भित्र उभिएको छ, मुलुककै स्वास्थ्य पायोनियर बी एन्ड बी अस्पताल, जो चौबीसै घण्टा बिरामीको सेवामा हरदम हाजिर छ।
मुल गेटबाट भित्र प्रवेश गर्दा बिरामी र कुरुवाको भीडभाड देखिँदैन। अस्पताल परिसरमा पटक्कै भीडभाड हुन नदिन सुरक्षा गार्डहरू हरदम तैनाथ छन्। अस्पतालमा आउने गाडीहरूलाई सुरक्षा गार्डले पार्किङ लटतिर अगाडि बढाउँछन्। बिरामी र कुरुवालाई सम्बन्धित विभाग र वार्डतिर पठाउँछन्। त्यसैले त शान्त देखिन्छ, अस्पताल परिसर।
बायाँ साइडमा ‘बी एन्ड बी’ले स्वागत गर्छ। बी एन्ड बी अर्थात् अस्पतालको पहिलो भवन। यही भवनबाट शुरु भएको हो, बी एन्ड बी अस्पताल स्थापना र अहिलेसम्मको क्रम विकासको यात्रा पनि। सोही भवनसँगै जोडिएका छन्, ‘बी एन्ड बी-१’ र ‘बी एन्ड बी-२’। ती भवनको दायाँ साइडमा ‘बी एन्ड बी-प्लस’ले स्वागत गर्छ। यो अस्पतालको अत्याधुनिक भवन हो। बाहिरपट्टि बिरामी र कुरुवाका लागि एटीएम मेसिन हाजिर छ।
भित्र प्रवेश गर्नासाथ नेपालकै प्रख्यात कफी सपको ब्रान्ड ‘हिमालयन जाभा’ले स्वागत गर्छ, जसले बिरामी र कुरुवाका लागि रिफ्रेन्समेन्ट दिलाउँदै आएको छ। त्यसो त, अस्पतालको अन्डर ग्राउन्डमा सुविधा सम्पन्न क्यान्टिन पनि निर्माणाधीन छ।
२७ वर्षे युवा बनेको बी एन्ड बी अस्पतालले संघर्षको लामो अवधि गुजार्यो। र, अब सुविधा सम्पन्न अत्याधुनिक अस्पताल बन्ने क्रममा छ। भुईंबाट उठेको बी एन्ड बीले अब सबै प्रकारका अत्याधुनिक सुविधासहित आएका सबै बिरामीले उपचार पाउने अस्पतालका रूपमा आफूलाई उभ्याउँदै छ। अत्याधुनिक र सुविधा सम्पन्न बन्ने त्यस अभ्यासका ८० प्रतिशत मापदण्ड पूरा गरिसकेको छ। र, छिट्टै २० प्रतिशत मापदण्ड पूरा गर्ने योजनामा दत्तचित्त भएर लागिपरेको छ।
अनुभवी र दक्ष स्वास्थ्यकर्मी, अत्याधुनिक उपकरण र सेवा सुविधा। छिट्टै ‘बी एन्ड बी प्लस’को छतमा हेलिप्याड सञ्चालनमा आउँदै छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिको मात्र पर्खाइ छ। हेलिप्याडको पूर्वाधार तयार भइसकेको छ।
बी एन्ड बीको मुख्य विशेषता हो, अस्पतालभित्र प्रवेश गर्दा नाकैमा ठोकिने ‘अस्पतालको गन्ध’ नआउनु। अस्पतालहरूमा प्रवेश गर्दा ह्वास्सै नाकमा ठोक्किने गन्धले बिरामी, कुरुवा र भेट्न आउने आफन्त अनि शुभचिन्तकलाई पनि बिरामी बनाउने रोगबाट बी एन्ड बी मुक्त भएको धेरै समय बित्यो। किनकि, त्यसरी नाकैमा ठोक्किने केमिकलको प्रयोग यहाँ हुँदैन। अर्थात्, बी एन्ड बीमा ‘अस्पताल’ गन्हाउँदैन !
बी एन्ड बी : नामै काफी छ !
बी एन्ड बी। यस्तो ‘युनिक’ नाम कसले जुरायो ? पक्कै हो, ब्रान्ड स्थापित गर्न कुनै युनिक नामको ठूलो महत्त्व हुन्छ। र, ‘बी एन्ड बी’ नाम युनिक मात्र छैन, यससँग देशकै पायोनियर दुई वरिष्ठ चिकित्सकहरू जोडिएका छन्- डा. बाँस्कोटा र डा. वैद्य।
वरिष्ठ चिकित्सकहरू वरिष्ठ अर्थोपेडिक सर्जन प्रा. डा. अशोककुमार बाँस्कोटा र वरिष्ठ युरो सर्जन प्रा. डा. जगदिशलाल वैद्यको लामो मित्रताको वर्णन गर्छ, ‘बी एन्ड बी’ ब्रान्डले। र, डा. बाँस्कोटा र वैद्यको मित्रताको कथा २७ वर्षअघि शुरु भएको होइन, त्यसभन्दा धेरै अगाडिको हो। यही मित्रताले बी एन्ड बी अस्पताललाई भुईंबाट उठाएर पाँचतारेसम्मको अविश्रान्त यात्रामा अगाडि बढाएको हो।
वरिष्ठ चिकित्सकद्वय नेपालका त्यस्ता ‘हेल्थ पायोनियर’ हुन्, जो बिरामीको सेवासँगै स्वदेशमै दक्ष चिकित्सक उत्पादनमा रातोदिन खटेका छन्। डा. बाँस्कोटा र डा. वैद्यको शब्द भण्डारमा थकाइ भन्ने शब्दै छैन भन्दा पनि फरक पर्दैन। किनकि, चौबीसै घण्टा, सातै दिन उनीहरू बिरामीको सेवामा तल्लीन छन्। त्यो पनि, करिअरको शुरुवातदेखि अहिलेसम्म निरन्तर !
त्यही मित्रताको परिणति हो, २७ वर्षदेखि बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिलाउँदै सफलताको शिखरतर्फ बी एन्ड बी अगाडि बढिरहनुको रहस्य पनि। त्यसैले त हो, ६ रोपनी जमिनबाट शुरु भएको अस्पताल परिसर १६ रोपनीमा विस्तार भइसकेको छ।
बिरामीको चाप व्यवस्थापन मात्र होइन, सेवाको गुणस्तरमा पनि अझ स्तरोन्नति गर्न साततले ‘बी एन्ड बी प्लस’ सञ्चालनमा आइसकेको छ। बाल अनि अपांगमैत्री यो भवन वास्तवमै सुविधा सम्पन्न छ।
भवनको भुईं तलामा इमर्जेन्सी सेन्सर जडित ढोका छ। त्यो ढोका पार गरेपछि हामी सीधै रेड जोनमा पुग्छौं। रेड जोनमै नर्सिङ स्टेसन छ। त्यहाँ तैनाथ नर्सले बिरामीको जटिलता हेरेर रेड, ग्रिन, यल्लो जोनमा पठाउने निर्णय गर्छन्।
भुईं तलामै २७ शय्याको इमर्जेन्सी वार्ड छ। आकस्मिक अवस्थाका बिरामीलाई शुरुमा सोही वार्डमा भर्ना लिइन्छ। इमर्जेन्सी वार्डकै छेउमा नर्सिङ स्टेसन छ। र, इमर्जेन्सीमै ‘माइनर अप्रेसन’ रुम पनि छ। यस रुममा बिरामीको घाउ सफा गर्ने, टाँका लगाउने र प्लास्टरलगायत काम गरिन्छ। त्यसकै छेउमा ‘अब्जरभेसन रुम’ छ। अब्जरभेसन रुममा पनि व्यवस्थित नर्सिङ स्टेसन छ।
अब्जरभेसन रुममा अस्पतालमा लामो समयदेखि भर्ना भएका र ओपीडीबाट आएका बिरामी राखिन्छ। यस्तै, ल्याब टेस्टपछि औषधि दिएर रेस्टमा राखिएका बिरामीलाई पनि २-३ घण्टाका लागि अब्जरभेसन रुममा पठाइन्छ। इन्डोस्कोपी गरिएका बिरामीलाई पनि मनिटरिङ गर्न सहज होस् भनेर अब्जरभेसन रुममै राख्ने व्यवस्था छ।
अब्जरभेसन रुम छेउमै सरकारको नियमअनुसार निःशूल्क शय्याको व्यवस्था गरिएको छ। ती शय्यामा गरिब तथा विपन्न वर्गका नागरिकको उपचार गरिन्छ। वडा तहबाट विपन्न वर्ग भनेर सिफारिस भइआएका बिरामीका लागि बी एन्ड बीले २० वटा शय्या छुट्याएको छ। तीमध्ये भुईं तलामा ६ वटा शय्यामा उनीहरूले उपचार पाउँछन्।
इमर्जेन्सीमै छ, यल्लो जोन। तत्काल शल्यक्रिया गर्नुपर्ने या अन्य गम्भीर प्रकृतिका बिरामीलाई यल्लो जोनमा राखिन्छ। भुईंतलामै छाला र केश प्रत्यारोपणका लागि छुट्टै विभाग छ। पछिल्ला वर्षमा केश प्रत्यारोपण बढ्दो छ। सोही कारण अस्पतालले वर्षदिनयता ‘हाइड्राफेसियल स्किन क्लिनिक’ सञ्चालनमा ल्याएको छ। केश प्रत्यारोपण सेवा छिट्टै शुरु गर्ने तरखरमा बी एन्ड बी छ। इन्डोस्कोपी, ल्याब र अल्ट्रा साउन्डको व्यवस्था पनि भुईं तलामै छ।
अब हामी उक्लिन्छौं, बी एन्ड बी प्लसको पहिलो तलामा। पहिलो तलामा छ, बी एन्ड बीको पहिचान नै बनेको अर्थोपेडिक सेवा। स्थापना कालदेखि नै बी एन्ड बीको अर्थोपेडिक सेवा सर्वसाधारणमाझ विश्वासिलो बनेको छ। अत्याधुनिक उपकरणसहित अस्पतालले नयाँ भवनमा अर्थोपेडिक सेवा प्रदान गर्दै आएको छ।
यही तलामा स्त्रीरोग र न्युरोका सेवा पनि उपलब्ध छन्। ईईजी र एनसीभी परीक्षणको सुविधा पनि यही तलामा छ। यही तलामा छ, काउन्सेलिङ कक्ष। यस कक्षमा अस्पतालका विभिन्न सेवाबारे परामर्श दिइन्छ। यहाँ एकजना परामर्शदाता बस्छन्। अहिले नवीन खकुरेल उक्त जिम्मेवारीमा छन्। खासगरी, ओपीडी, इमर्जेन्सी तथा अप्रेसनसम्बन्धी केसका बिरामी काउन्सिलिङका लागि आउने गरेको उनी बताउँछन्।
०००
अब हामी ‘बी एन्ड बी प्लस’को दोस्रो तलामा उक्लिन्छौं। यो तलामा एचडीयू अर्थात् हाई डिपेन्डेन्सी युनिट छ। एचडीयू भनेको आईसीयूभन्दा केही कम सुविधाको एकाइ हो।
तथापि, एचडीयूमा पनि अत्याधुनिक उपकरणहरू जडित छन्। ती सबै विदेशबाटै मगाइएका हुन्। यो तलाको उत्तरतर्फ अप्रेसन थिएटर छ भने दक्षिणतिर एचडीयू। यस तलामा ९ वटा अप्रेसन थिएटर छन्।
०००
तेस्रो तलालाई बहिरंग विभाग अर्थात् ओपीडीका लागि ठाउँ दिइएको छ। अस्पतालमा कुल ३८ वटा ओपडी छन्।
यसै तलामा छ, जीएलबी सेन्टर सर्जरी। यो प्रा. डा. जगदिशलाल वैद्यको नाममा छ। माथि नै भनियो- देशकै पायोनियर युरो सर्जन डा. वैद्य बी एन्ड बीका दुईमध्ये एक संस्थापक हुन्।
तेस्रो तलामै मिर्गौलासम्बन्धी उपचार गरिन्छ। अन्य निजी अस्पतालको तुलनामा बी एन्ड बी प्लसमा विपन्न नागरिकलाई डाइलासिस सेवामा सहुलियत छ। मिर्गौला प्रत्यारोपण सेवा पनि शुरु गर्ने तरखरमा छ, बी एन्ड बी। ‘सरकारबाट आशय पत्र पाउनासाथ सेवा शुरु गर्ने तयारी छ,’ अस्पतालका अपरेसन एन्ड एचआर अफिसर विवेक श्रेष्ठ भन्छन्।
हाल तीनजना विशेषज्ञ चिकित्सकले मिर्गौला रोगसम्बन्धी सेवा दिँदै आएका छन्। तेस्रो तलामै १२ शय्याको आईसीयू छ। यस आईसीयूमा ६ वटा जनरल बेड र ६ वटा क्याबिन छन्।
०००
तेस्रो तलाको अवलोकनपछि हामी उक्लियौं चौथोमा। यस तलामा अर्थोपेडिक वार्ड छ। यस वार्डमा हाडजोर्नीसम्बन्धी बिरामीहरूलाई राखिन्छ।
चौथो तलामा १८ वटा भीआईपी क्याबिन छन्। ती क्याबिनमा प्रायः सर्जरी गरेका बिरामीलाई राखिन्छ। ‘बी एन्ड बी’ले भीआईपी क्याबिन सञ्चालनमा ल्याएको धेरै भएको छैन। दशैंयता मात्र यी क्याबिनहरू सञ्चालनमा आएका हुन्। हरेक बिरामीको आ-आफ्नो चाहनाअनुसारका सुविधाहरू उपभोग गर्न चाहनेहरूका लागि भीआईपी क्याबिनको व्यवस्था अस्पतालले गरेको हो।
यी भीआईपी कक्ष पनि अत्याधुनिक छन्। क्याबिन बाहिर दुईवटा नर्सिङ स्टेसन छन्। हरेक क्याबिनको कोठामा संकेत बत्ति जडित छन्। र, क्याबिनको बेडको सिरानेतिर स्विचको व्यवस्था छ। बिरामीलाई आवश्यकता परेमा स्विच थिचेपछि बाहिर ढोकाको बत्ति रातो बल्छ। नर्सहरू तत्काल क्याबिनमा प्रवेश गर्छन्।
भीआईपी क्याबिनको सेवा लिएका बिरामीहरू फर्किंदा निकै सन्तुष्ट देखिएको चौथो तलाकै सुपरभाइजरको भूमिकामा रहेकी गंगा श्रेष्ठ बताउँछिन्। भन्छिन्, ‘हामीले दिएको स्वास्थ्य सेवाकै कारण कतिपय बिरामीहरू डिस्चार्ज भइसकेपछि पनि भेट्न आउनु हुन्छ।’
०००
पाँचौं तलामा २० वटा क्याबिन छन्। छैटौं तलामा छ, ‘बीबी टोरियम’। ‘बीबी टोरियम’ अर्थात् चिकित्सक र नर्सहरूको कक्षाकोठा। यस कक्षमा चिकित्सक र नर्सहरू बीच दैनिक अन्तरक्रिया त हुन्छ नै, साथमा विभिन्न रोगका नयाँ-नयाँ चुनौतिहरू, तिनको समाधान, नियमित आइपर्ने जटिलताको समाधानका बारेमा सिनियरहरूले जुनियरलाई प्रशिक्षण दिन्छन्। यसबाट अस्पतालमा आएका बिरामीमा देखिने गरेका जटिलता र तिनको समाधानका उपायबारे पनि नियमित छलफल र परामर्श हुने गर्छ।
बी एन्ड बी अस्पतालमा अर्थोपेडिक, कार्डियो, रेडियोलोजी, न्युरो र आईसीयूमा फेलोसिप तालिम पनि उपलब्ध छन्। र, त्यस्ता तालिममा विदेशका स्वास्थ्यकर्मी पनि सहभागी हुँदै आएका छन्।
बीबीटोरियमकै छेउमा ब्लड बैंक छ। अस्पतालले रेडक्रससँग समन्वय गरेर रगतको व्यवस्थापन गर्दै आएको छ।
विशेष गरी बी एन्ड बीलाई सर्जिकल अस्पतालका रूपमा चिनिन्छ। अस्पतालमा दैनिक ३० देखि ५० सम्म सर्जरी हुने गर्छन्। तीमध्ये ३० प्रतिशत रगत अस्पतालकै ब्लड बैंकमार्फत परिपूर्ति हुन्छ। बाँकी रेडक्रससँगको समन्वयमै आपूर्ति हुने गरेको छ।
छैटौं तलामा प्याथोलोजी ल्याब छ। करिब ५० स्वास्थ्यकर्मी ल्याबमा कार्यरत छन्। र, तीनजना सिनियर प्याथोलोजी चिकित्सकले यस एकाइको नेतृत्व गर्छन्।
०००
अब हामी बी एन्ड बी प्लसको सातौं तलामा उक्लिन्छौं, जहाँ छ बी एन्ड बीको ‘ड्रिम प्रोजेक्ट’ हेलिप्याड। यसको सञ्चालन निम्ति नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिने प्रक्रिया अगाडि बढिसकेको छ। त्यसका लागि आवश्यक पूर्वाधारहरू निर्माण लगभग सकिएको छ। र, अनुमति प्राप्त हुनासाथ हेलिप्याडमा ल्यान्डिङ शुरु हुनेछ।
०००
अस्पताल परिसरमै कार र मोटरसाइकल पार्किङको राम्रो सुविधा उपलब्ध छ। माथि नै भनियो, अन्य अस्पतालजस्तो बी एन्ड बीमा भीडभाड छैन। पार्किङ, एक्सरे, सिटिस्क्यान, एमआरआईलगायत सेवालाई व्यवस्थित बनाइएकाले भीडभाडको व्यवस्थापन भएको प्रष्ट देख्न सकिन्छ।
अस्पतालमा ११६ जना चिकित्सक छन्। अर्थोपेडिक मात्र होइन, कार्डियो, न्युरो, स्त्रीरोगलगायत निकै अनुभवी विशेषज्ञ चिकित्सक यहाँ कार्यरत छन्।
बी एन्ड बी र बी एन्ड बी प्लस भवनलाई निम्नदेखि उच्च वर्गसम्मले सहजै सेवा लिन पाऊन् भन्ने अवधारणामा निर्माण गरिएको छ।
विदेशबाट डाक्टरी पढेका डा. वैद्य र डा. बाँस्कोटा प्रष्ट छन्- पैसा अभावकै कारण कसैले उपचारबाट वञ्चित हुनु नपरोस्। सबै नागरिकले समानस्तरको उपचार पाऊन् भनेरै अस्पताललाई व्यवस्थित बनाइएको श्रेष्ठ बताउँछन्।
जुनसुकै वर्ग र तप्काका मानिसले एयर एम्बुलेन्समार्फत विदेश पुगेर महँगो उपचार लिनु नपरोस् भनेर बी एन्ड बीले आफूलाई स्तरोन्नती गरिरहेको अस्पतालको अवलोकनमा प्रष्ट देख्न सकिन्छ। एक बारको जुनी हो, अझै केही वर्ष बाँचौं भन्ने विचार कसको हुँदैन र ! त्यसरी विदेश पुग्नुपर्ने बाध्यताबाट पनि मुक्ति दिलाउने उद्देश्य बी एन्ड बीको हो। त्यसैले त, अस्पताललाई निम्नदेखि उच्च वर्गसम्मले उपचार लिने गरी स्तरोन्नति गरिँदैछ।
त्यसको उदाहरण डा. बाँस्कोटा र डा. वैद्यले आफैंले पस्केका छन्। आफ्नै अस्पतालमा आफूलाई लागेका रोगहरूको उपचार गराएर उनीहरूले अरूलाई पनि स्वदेशमै उपचारका लागि प्रेरित गरेका छन्। र, उनीहरूको उपचार दुवैले उत्पादन गरेका चिकित्सकहरू नै गरेका हुन्।
त्यही अभिभावकत्वको परिणाम हो, अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीहरूले डा. बाँस्कोटा र डा. वैद्यलाई ‘बा’ सम्बोधन गर्छन्। ‘बा’ अर्थात् बलियो छत्रछाया, स्नेही अभिभावक। बी एन्ड बी कर्पोरेट अस्पताल नभई पारिवारिक अस्पताल रहेको अपरेसन एन्ड एचआर अफिसर श्रेष्ठ बताउँछन्। भन्छन्, ‘त्यसैले अस्पतालमा कार्यरत सबैले डा. बाँस्कोटा र डा. वैद्यलाई ‘बा’ भनेर सम्बोधन गछौं।’
अस्पतालमा दैनिक ४ सय हाराहारीमा बिरामी आउँछन्। आइतबार र शुक्रबार अझ बढी बिरामी आउँछन्। विदाका दिनमा पनि अस्पतालका ओपीडी बन्द हुँदैनन्।
०००
सन् १९९७ मा स्थापना भएको बी एन्ड बीका पुराना पाँचतले तीन भवन छन्। तीनै भवनमा आउन-जान सक्नेगरी संरचना निर्माण गरिएको छ। त्यसो त, तीनै भवनलाई ‘बी एन्ड बी-प्लस’सँग पनि जोडिएको छ।
दोस्रो भवनको पहिलो तलामा क्याथल्याब र कार्डियो सेवा उपलब्ध छ। मुटु रोग, स्ट्रोकलगायत सेवा त्यहाँबाट दिइन्छ।
पहिलो तलामै स्त्रीरोग उपचार र एनआईसीयूको पनि प्रबन्ध छ। बालबालिकाका लागि १० बेडको एनआईसीयू पनि व्यवस्था गरिएको छ।
तेस्रो तलामा १२ वटा बेड छन्। छेउमै बी एन्ड बी पोस्ट अपरेटिभ वार्ड छ, जहाँ अप्रेसनपछि बिरामी राख्न ३० वटा बेड छन्।
बी एन्ड बीले २ वर्षअघि ललितपुरमै पहिलोपटक स्ट्रोक सेन्टर स्थापना गरेको छ। विश्व स्नायु दिवसका अवसरमा २२ जुलाई २०२२ देखि बी एन्ड बीमा एक्युट स्ट्रोक सेन्टर सञ्चालनमा आएको हो, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको बाहुलीबाट यसको उद्घाटन भएको थियो।
चौथो तलामा न्युरो वार्ड छ, जसमा तीनजना सर्जनले उपचार सेवा दिँदै आएका छन्। सोही तलामा मिनीटोरियम छ, जहाँ बीबीटोरियामा जस्तै नर्सिङ पढाइन्छ। यही तलामा आईटी कक्ष छ। सोही कक्षबाट हुन्छ, अस्पतालभरिको आईटी मनिटरिङ।
सबैभन्दा पुरानो भवनको तेस्रो तलामा क्यान्सरको उपचार गर्ने अंकोलोजी विभाग छ। यसमा १५ बेड छ। सोही तलामा भीआईपी क्याबिनको पनि सुविधा छ। सर्जिकल र मेडिकल दुवै वार्ड व्यवस्थित ढंगले सञ्चालनमा छन्।
स्थापनाकालदेखि नै अस्पतालले खानेपानीको व्यवस्थापन गरेको छ। बाहिरबाट जार खरिद गरेर पिउने पानी ल्याइँदैन, बी एन्ड बीमा। यहीं प्रशोधन गरिएको पानी अस्पतालका स्टाफ, बिरामी र कुरुवाले उपभोग गर्न पाउँछन्।
अस्पतालमै आँखा उपचार सेवा पनि उपलब्ध छ। दुईजना आँखा रोग विशेषज्ञहरू यस विभागमा कार्यरत छन्।
०००
‘दुईजना डाक्टरहरूको घनिष्ठ मित्रताकै कारण बी एन्ड बीले यहाँसम्मको यात्रा तय गरेको छ,’ प्रमुख प्रशासक प्रकाशकुमार भट्टराई भन्छन्, ‘अब हामी आधुनिक मेसिन औजार तथा उपकरणयुक्त सुविधा सम्पन्न स्तरीय अस्पतालमा प्रवेश गर्ने क्रममा छौं।’
उनका अनुसार अहिले बी एन्ड बीसँग १०० बेडको स्वीकृति उपलब्ध छ। अस्पतालमा बिरामीको दैनिक चापलाई मध्यनजर गरी अब ३०० बेडको स्वीकृति प्रक्रिया अगाडि बढेको छ।
अझै पनि आम मानिसमा बी एन्ड बीलाई ट्रमा सेन्टरका रूपमा बुझाइ देखिन्छ। किनकि, देशभर जहाँ दुर्घटना भयो कि घाइतेलाई सीधै बी एन्ड बीमा ल्याउने चलन अद्यापि छँदैछ। खासगरी, हाडजोर्नीका चिकित्सकहरू बी एन्ड बीमा मात्र छन् भन्ने बुझाइ छ।
हुन पनि, बी एन्ड बीमा अर्थोपेडिक विभागमा मात्र २७ जना विशेषज्ञ चिकित्सक छन्। हात, खुट्टा र ढाड मात्र होइन, औंला, घाँटीलगायत हाडजोर्नीको क्षेत्र पर्ने शरीरका अंगपिच्छेका विज्ञ चिकित्सक उपलब्ध छन्। त्यसैले त, बी एन्ड बीमा भर्ना भएका बिरामीको मृत्युदर पनि निकै न्यून छ।
तर, अब बी एन्ड बी हाडजोर्नीका बिरामीको मात्र अस्पताल रहेन। सबै स्वास्थ्य समस्याको उपचार गराउने अनि सबै वर्गका लागि सर्वसुलभ अस्पताल बनेको छ यो।