काठमाडौं– सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिन समिति माग गरेपछि सभामुखले बोलाएको बैठकमा सहमति जुट्न सकेन।
सत्ता पक्षको संसदीय छानबिन समिति नबनाउने अडान र प्रतिपक्षी कांग्रेसको संसदीय छानबिन समिति बनाउनुपर्ने अडानमा कायम भएपछि बैठक निष्कर्षविहिन भएको हो।
केहिबेर अघि सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला सहभागी छन्। त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक तथा रास्वापाबाट गृहमन्त्री रवि लामिछाने र प्रमुख सचेतक सन्तोश परियार सहभागी छन्। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भएपनि उनी बैठकमा सहभागी भएनन्।
बैठकमा कांग्रेसले छानबिन समिति नबनाए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ। उसले संसद अवरुद्ध भए त्यसको जिम्मेवार सरकार आफैं हुने चेतावनी दिएको छ।
बैठकमा ढिलो पुगेका देउवाले छानबिन समितिको माग गर्दै अगाडि नै बैठकमा पुगिसकेका गृहमन्त्री रवि लामिछानेलाई हेर्दै मुस्कुराएका थिए। तर सत्तापक्ष र प्रतिपक्षको अडान यथावत रहेपछि बैठक निष्कर्षमा पुग्न सकेन।