काठमाडौं- अहिले जाडोयाम छ। यो समयमा चिसो धेरै हुँदा स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन्। मुख्यतः यो समयमा जोर्नीको दुखाइ जुनसुकै उमेरका मानिसलाई पनि हुन्छ।
विभिन्न रोगका कारणले पनि जोर्नी दुख्छ। युरिक एसिड, बाथरोग, इन्फेक्सनको कारणले गर्दा पनि दुखाइ हुन्छ। ५० वर्षभन्दा बढी उमेरका कतिपय व्यक्तिको हड्डी खिइँदै गएको हुन्छ। हड्डी खिइँदै जाँदा दुखाइ बढ्ने हुन्छ। एकै ठाउँमा बस्दा, शारीरिक व्यायाम नगर्दा, भिटामिन डी र क्याल्सियमको कमी हुँदा पनि जोर्नीको दुखाइ बढ्छ।
ज्येष्ठ नागरिकहरूमा भने हड्डी खिएर नसा च्यापिने हुन सक्छ। जोर्नी दुखाइले गर्दा उनीहरूमा थप जटिल समस्या पनि देखिन सक्छ। कसै-कसैमा जोर्नी बिग्रने समस्या आउन सक्छ। दुखाइ बढ्दै जाने, ज्वरो आउने, टेक्न गाह्रो हुने हुन्छ।
लक्षण
– हड्डी पूरै कटकट खाने, दुख्ने
– हड्डी कमजोर भएजस्तो लाग्ने
– हातखुट्टा दुख्ने
– हातखुट्टा सुन्निने
– पलेंटी कस्दा बढी दुख्ने
– भर्याङबाट ओरालो झर्दा बढी दुख्ने
– करेन्ट लागेको जस्तो हुने, झमझम हुने, पोल्ने
– खुट्टा उचाल्न गाह्रो हुने
– शरीरका सबै भाग दुख्ने
– दुखेको ठाउँमा थिच्दा वा मालिस गर्दा केही थाहा नहुने तर भित्रभित्रै दुख्ने
– बालबालिकामा खुट्टा बांगिने, छातीको हड्डी सुन्निएको देखिने
के गर्ने ?
– जाडोमा आफूलाई न्यानो बनाउने
– भिटामिन डी र क्याल्सियमको मात्रा बढाउने खानेकुरा खाने
– बिहान १५-२० मिनट घाममा बस्ने
– धूम्रपान, मद्यपान नगर्ने
– कोक र पेप्सीजस्ता सफ्ट ड्रिंक्स, आँटामा आधारित उत्पादन नखाने
– सकभर घरबाहिरको खाना नखाने
– हड्डी खिइन कम गर्ने औषधि प्रयोग गर्ने
– फिजियोथेरापी गर्ने
– न्यानो भएर नियमित व्यायाम गर्ने
– रोगअनुसारका बिरामीले खानपानमा ध्यान दिने, आफूलाई असर गर्ने खानेकुरा नखाने
– युरिक एसिडका बिरामीले रातो मासु, गेडागुडी कम खाने
– पर्याप्त पानी पिउने
– हाडजोर्नीसम्बन्धी कुनै समस्या भए अस्पताल जाने, चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने
(हाडजोर्नीरोग विशेषज्ञ डा. ठाकुरसँग कुराकानीमा आधारित)