झलनाथ खनाल/कैलाली– समुदायअनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने ‘होरी’ (होली) को इतिहास भने फरक छ। विसं १७५० मा अछामको कालीमाटी गडीका राजा भान शाहले भारतको कुमाउ गडुवालबाट विवाह गर्दा होरी दाइजोका रुपमा अछाम भित्र्याइएको मानिन्छ। त्यसबेला राजा भान शाहलाई दाइजो के लिने भन्ने कुरामा उनले नमर्ने कृति दाइजो मागेका थिए।
कुमाउ गडुवालबाट होरी दाइजोका रुपमा ल्याएर अछाम पुगेका राजा भानले त्यसमा प्रयोग हुने ढोल, टाम्को, झ्याली, होरीको बही र बाजा बजाउने जिताउरे दमाईलाई समेत सँगै लिएर आएका थिए। रानीको मन बहलाउन त्यहाँबाट ल्याएको होरी खेल्न सुरु भएको जनविश्वास छ। शिवरात्रिका दिन वैजनाथ धाममा सुरु गर्ने होरी पछि शिवालयबाट सुरु गर्ने चलन चल्यो। अष्टमीदेखि पूर्णिमासम्म बहीअनुसार बर्ज भाषामा खेल्न थालिएको होरी समयसँगै अछाममा विभिन्न स्थानमा खेल्न थालिएको इतिहासका जानकार पदमबहादुर रावल बताउँछन्।
समयको परिवर्तनसँगै विसं १९५०/६० को दशकमा कस्मिरे पण्डितको नामले परिचित केवलानन्द डण्डी स्वामीले त्यो बर्ज भाषाको होरीलाई अछामको संस्कृतिअनुसार परिमार्जन गरेको पाइन्छ। “स्वामीले १९६० को दशकमा होरी संगित किताब लेख्नुभएको थियो। उहाँले पुरानो बर्ज शैलीलाई परिमार्जन गर्दै त्यसमा रामलीला र कृष्ण चरित्रमा आधारित रहेर होरीमा गाउने डेउडा (डेबरा) लेख्नुभएको थियो। डेबरालाई धार्मिक आस्थासँग ढाल्ने काम भयो’’, रावल भन्छन्, “त्यतिमात्र नभई होरीलाई तालबद्ध र छन्दबद्ध गर्ने काम पनि स्वामीले गर्नुभएको थियो। उहाँले लेखेको पुस्तकमा होरीलाई १६ छन्दमा परिमार्जन गरेको पाइन्छ।“ त्यसमा प्रयोग हुने ढोल, ट्याम्को र झ्याली बजाउन साइमले दमाईलाई स्वामीले नै सिकाएको रावल बताउँछन्।
स्वामीले लेखेको पुस्तकमा ७४ डेबरा छन्। डेबरा रामलीलामा आधारित छन्। श्रीकृष्ण चरित्रमा आधारित ३९ वटा डेबरा लेखिएका छन् भने एउटा वंशावलीमा आधारित डेबरा लेखिएको छ। सुगाली बढिगाउँबाट रुपान्तरण भएको होरी त्यसपछि अछाम जिल्लाभर विस्तार भयो। अछामी समुदायको बाहुल्यता रहेको कैलालीको टीकापुरको होरीलाई विशेष महत्वका साथ हेरिने गरेको छ।
कसरी खेलिन्छ होरी?
महाशिवरात्रिको दिन होरीको उद्घाटन गरिन्छ। सेतो दाउरा सुरुवाल अथवा सेतो पाइजामा र पगरीमा सजिएर डेउडा शैलीमा अछामी होरी खेल्ने गरिन्छ। खलिफाले भनेको डेबरालाई लयमा ढाल्दै खुट्टाको पैताला मिलाउँदै खेलिन्छ। होरी खेल्नेहरू दुई भागमा विभाजन भएर एकले भनेको अर्को पछ्याउँदै होरी खेल्ने चलन अछामी समुदायमा छ। अष्टमीबाट खेल्न सुरु हुने होरी मङ्गला चरण डेबराबाट सुरु हुन्छ । स्वामीले तीनवटा मङ्गला चरण डेबरा बनाएका छन्। “नाचे सदा शिव बम भोला, नाचे सदा शिव बम भोला। “शङ्कर खेल त होरी रे लाल, शङ्कर खेल त होरी रे लाल’’, श्लोकबाट होरीको सुरुवात हुन्छ। त्यसपछि रामलीला र श्रीकृष्ण चरित्रमा रहेर डेबरा प्रस्तुत हुन्छन्।
होरी खेल्दा डेबरा भन्नेलाई खलिफा भनिन्छ। बाजा बजाउनेलाई ताइपो भनिन्छ। देउडा शैली खुट्टाका पैताला मिलाउँदै खेलिने होरी फागुपूर्णिमाको दिन समापन गरिन्छ। “समापनको दिन चिर पोल्ने गरिन्छ। चिर पोलेको खरानीको टीका लगाएपछि होरी समापन भएको मानिन्छ। होरीका अर्का जानकार तपेन्द्रबहादुर रावलले भने, “पहिले चिर पोल्दा बलि दिने चलन भएपनि अहिले त्यो चलन छैन।’’ चिर जलाइसकेपछि ‘रंगिलो होरी गैजान लाग्यो भटकिन लाग्यो छाती रे’ भन्दै अन्तिम डेबरा गाउँदै होरी समापन गरिन्छ।
होरी लोप हुने खतरा बढ्दै
नयाँ पुस्ताले होरीमा चासो नदिएका कारण होरी लोप हुँदै जाने चिन्ता बढ्दै गएको छ। नयाँ पुस्तालाई होरीमा जोड्न नसकिए विस्तारै यो पर्व हराउँदै जानसक्ने बताइएको छ। त्यसबेलाको भाषा शैली अहिलेको युवा पुस्ताका लागि बुझ्न कठिन हुने बताउँदै रावलले त्यसलाई वर्तमान परिवेश सुहाउँदो परिमार्जन गर्नुपर्नेमा जोड दिए। उनी भन्छन्, “जसरी राजा भानको होरीलाई स्वामीले परिमार्जन गरे जस्तै आज परिमार्जन गर्ने व्यक्तिको खाँचो छ।’’
अछामी होरीको विषयमा विद्यावारधि गरेका डा देवेन्द्र भट्टले लोक भाषा, लोक संस्कृतिलाई परिमार्जन गर्न नसकिने बताउँदै पुस्ता हस्तान्तरणमा पुरानो पिंढी सचेत बन्नुपर्ने बताए। ‘अछामी होरी’ नामक पुस्तकसमेत खेका भट्टले अछाममा होरी राजा भान शाहले ल्याएको भन्ने भएपनि होली प्राचीन समयदेखि नै खेलिँदै आएको पर्व भएको बताए। सत्य युग, प्रेता युग र द्वारयुगमा पनि होली खेलिने गरेको उनी बताउँछन्।
पुस्ता हस्तान्तरण हुन नसक्दा युवाहरूमा होरीप्रति आकर्षण बढ्न नसकेको पाइन्छ। स्थानीय युवा झनकराज तिमिल्सिना पुस्ता हस्तान्तरण हुन नसके केही वर्षपछि होरीको इतिहास सङ्कटमा पर्न सक्ने चिन्ता व्यक्त गर्छन्। उनी भन्छन्, “यहाँ सिकाउनेको अभाव छ। होरी खेल्दा पनि सिकाइको भावना नेतृत्वमा छैन। बिग्रेपछि हात समातेर खेलबाट निकाल्ने चलन छ।’’
पुराना संस्कार र संस्कृतिको जगेर्ना गर्नका लागि युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्ने स्थानीय समाजसेवी भानुभक्त जैशी बताउँछन्। उनले संस्कृतिसँग जोडिएका संघसंस्थाहरुमा युवाहरूको सहभागिता नहुनुले पनि पुराना कुराहरू युवाहरू आकर्षणमा पर्न नसकेको बताए। “युवाहरूले आफ्ना कला र संस्कृतिहरुलाई चासो दिएका हुन्छन्। युवाको चासोलाई पाको पुस्ताले बुझ्नुपर्छ”, जैशीले भने, “सिक्न चाहने र जान्न चाहने युवाहरूले सिक्ने अवसर नपाउँदा होरी मात्रै नभई अन्य पुराना कला र संस्कृति लोप हुने खतरामा छन्।’’