काठमाडौँ । प्रतिनिधिसभा बैठकमा निरन्तर विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले महाभियोग सिफारिस समितिमा सहभागी भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध परेको महाभियोगमाथिको छानबिन समितिमा एमाले सहभागी भएको हो ।
आफ्नो पार्टीले कारबाही गरेको १४ जना सांसदलाई पदबाट हटाउनु पर्ने वा सभामुखको विकल्प खोज्नु पर्ने माग राख्दै विगत ६ महिनादेखि एमालेले प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्तावबारे सिफारिस समिति घोषणा गरेका थिए ।
जसमा नेकपा एमालेका तर्फबाट चार जना सांसद सहभागी भएका छन् । एमालेले ११ सदस्यीय महाभियोग सिफारिस समितिमा चार जना सांसदलाई पठाएको हो । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, शिवमाया तुम्बाहाफ्मे, लालबाबु पण्डित र कृष्णभक्त पोखरेल रहेका छन् ।
महाभियोग प्रस्तावमा एमालेले सांसदको नाम पठाएसँगै आगामी दिनमा प्रतिनिधिसभा चल्नेमा सरकार आशावादी देखिएको छ । तर, एमालेले निष्पक्ष छानबिन गर्नका लागि आफूहरूले चार जना सांसद पठाएको बताएको छ ।
एमाले नेता सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टी संसदीय विधि र प्रक्रियामा विश्वास गर्ने भएकाले महाभियोगको प्रक्रियालाई सही ढंगले निकास दिन महाभियोग सिफारिस समितिमा सहभागी भएको बताएका छन् । एमालेले समितिमा आफ्नो सांसदहरू सहभागी भए पनि संसद चल्न नदिने नीति लिएको छ ।