काठमाडौँ । सुर्खेतमा मृत्यु भएका कालीकोटका व्यापारी कृष्ण हमालका बुवाले सुब्बाकुना प्रहरी चौकीका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध जाहेरी दिएका छन् । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको हो ।
प्रहरीको कुटाईबाट छोराको मृत्यु भएको भन्दै हमालका बुवाले जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कालीकोटले असईविरुद्ध जाहेरी परेको जानकारी दिएको छ ।
गत शुक्रबार साँझ सामान्य विवाद हुँदा प्रहरीको कुटाई खाएका हमालको शनिबार मृत्यु भएको हो । उनको मृत्यु प्रहरीको कुटाईबाट भएको बताउँदै वीरेन्द्रनगरमा प्रर्दशन हुँदै आएको छ ।
शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका हमाल प्रहरीले नियन्त्रणमा परेको भोलिपल्ट मृत्यु भएको थियो । हमालको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।
घटनाको छानबिन गर्न शनिबार नै सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।