काठमाडौँ । किराँत धर्मगुरु निजीगरू आश्रमले प्रदेश १ को नामाकरण ‘सगरमाथा किराँत’ राख्न सुझाव दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा आयोजना भएको एक कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।
प्रदेश १ को लिम्बुबान, खम्बुवान, कोशी, किराँत प्रदेश, सगरमाथा प्रदेशभन्दा सिंगो देशको आत्मसम्मान हुने ‘सगरमाथा किराँत’ नाम उपयुक्त हुने उनको तर्क थियो । महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्तीको अवसरमा गुरुबाट यस्तो सन्देश आएको आश्रमले जनाएको छ ।
किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेईङ’का निजी गुरु प्रवक्ता डिल्लीराम चाम्लिङले प्रदेश १ को नामकरण सगरमाथा किराँत प्रदेश गर्न माग गरे । सरकारले गुरुहरुको विचारलाई पनि कदर गर्नपर्ने उनले धारणा राखे ।
गुरु आश्रमले प्रदेश १ सँगको नामाकरणसँग महाभारतको कथा मिलेको सुनाए । किरात धर्मगुरुलाई त्रिकाल दर्शी भनिने भन्दै उनले गुरुले राखेको नाम नै प्रदेश १ मा उपयुक्त हुने जिकिर गरे ।
उनले भने, ‘सूर्यवंशी र चन्द्रवंशी दुवैलाई मान्यता दिएर संयुक्त रुपमा यो नामाकरण गरिएको छ । सबैले स्वीकार गरे आत्मसम्मान पाइन्छ ।’ उनले आफूले प्रस्ताव गरेको नामले प्रदेश १ का सबै जनताको कल्याण हुने जिकिर गरे ।
लेखक तथा किराँत ज्योतिषविद् डा.चन्द्रकुमार सेर्माले किराँत भनेको जाति नभएर सभ्यताको नाम भएको बताए । उनले भने, ‘किराँत साहित्य हो, भाषा हो, किराँत संस्कृती हो, सभ्यता हो ।’
प्राचीन ऐतिहासिक तथ्य लेखेको कुरा कसैले मेटाउन नसक्ने उनको जिकिर थियो । किराँत शब्द पूरै नेपालीले गर्व गर्ने उनले बताए ।