यो भाइरसको संक्रमण विशेषगरी बालबालिकामा बढी देखिने गरेको छ । कानको फेदमा अर्थात च्यापुका दुवैपट्टि वा एकापट्टि मात्र सुन्निनुलाई हाडे भनिन्छ। हाम्रो दुवै गालाको तल्लो भागमा प्यारोटिड ग्रन्थी हुन्छ। मम्पस भाइरसको संक्रमणका कारण त्यो सुन्निने र दुख्ने अवस्था पनि आउँछ, जसलाई हामी हाडे भएको भन्छौं। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ।
यो रोग लागेका मानिहरूले सास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा हावाको माध्यमबाट वा बिरामीसँगको सम्पर्कबाट सीधै मम्पस भाइरस सर्ने गर्छ। भाइरसको संक्रमण भएको केही दिनपछि मात्रै यो रोग देखा पर्ने भएकाले हेर्दा निरोगी देखिए पनि संक्रमित मानिसबाट पनि यो रोग सर्न सक्छ।
मम्पस एउटा यस्तो रोग हो, जो जिनस रुबेला भाइरसका कारण हुने गर्छ। एक व्यक्तिबाट अर्को व्यक्तिको सम्पर्कमा आउँदा यो संक्रमण फैलिन्छ। जब संक्रमित व्यक्तिले खोक्छ वा हाच्छिउँ गर्छ, छिटा हावामा फैलिन्छन् र कुनै अन्य व्यक्तिको आँखा, नाक वा मुखमा प्रवेश गर्न सक्छन्। यसले दोस्रो व्यक्ति पनि संक्रमित हुने गर्छन्। मुख्यतया, यो रोग दुईदेखि १२ वर्षका बालबालिकामा देखिने सम्भावना अधिक हुन्छ।
लक्षण
– ज्वरो आउने, टाउको दुख्ने
– रुघाखोकी लाग्नु
– हाडजोर्नी दुख्नु
– थकान महशुस हुनु
– शरीर दुख्नु
– खान मन नलाग्नु
– गालाको एकातिर वा दुवैतिरको प्यारोटिड ग्रन्थीहरू सुन्निने र दुख्ने, कान दुख्ने
– बोल्ने बेलामा समेत अप्ठेरो महशुस हुने
– खाना खान अप्ठ्यारो हुने
– चिउँडो र गालाको एकातिर वा दुवैतिर सुन्निनु वा दुख्नु
– अचेत हुने, बेहोश हुने
– धेरै पेट दुख्ने र वान्ता हुने
– अण्डकोष सुन्निने
– कान दुख्ने वा सुन्ने क्षमता कमजोर हुने
के गर्ने?
– लक्षणअनुसारको औषधि सेवन गर्ने
– मनतातो पानीमा सुन राखेर कुल्ला गर्ने
– चिसो खानेकुरा नखाने
– चपाउने, साह्रो खानेकुरा नखाने, तरल पदार्थ खाने, पेय पदार्थ नखाने
– आराम गर्ने
– सरसफाइमा ध्यान दिने
– हाडे रोगबाट संक्रमित बालबालिकालाई विद्यालय नपठाउने
– थप समस्या देखिएमा चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने
(कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. ठाकुरसँग कुराकानीमा आधारित)