युक्रेनको अर्को परमाणु प्लान्टलाई नियन्त्रणमा लिन रुस उद्यत रहेको अमेरिकाले बताएको छ।
संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले उक्त दाबी गरेकी हुन्। उनको भनाइमा जेपोरजियास्थित परमाणु प्लान्ट कब्जामा लिएपछि अर्को त्यस्तै प्लान्टमा रुसको नजर देखिएको छ।
रुसी सेना उक्त परमाणु प्लान्ट नजिक पुगेको ग्रिनफिल्डले बताइन्। गत बिहीबार जेपोरजियास्थित युरोपकै ठूलो परमाणु ऊर्जा प्लान्टमा रुसले आगजनीको सहारामा कब्जा जमाएको थियो।
‘मानव सभ्यता जिपोरजिया प्लान्टको विष्फोटबाट हुने क्षतिबाट बालबाल बचेको छ,’ उनले भनिन्, ‘अर्को परमाणु संयन्त्र कब्जामा लिन रुसी सैनिक बढिरहेका छन्।’
राजधानी किभको दक्षिणमा करिब दुई सय किलोमिटर दूरीस्थित युजाक्रिन्स्क पावर स्टेसनलाई कब्जामा लिन रुसी सेना बढिरहेको उनले जानकारी दिइन्। ‘एउटा खतरा सन्निकट छ। यस्तो खतरनाक आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायको साथ आवश्यक छ,’ उनले भनिन्।
युक्रेनमाथि ज्यादतिपूर्ण आक्रमण थालेलगत्तै रुसी सैनिकले चेर्नोभिलस्थित परमाणु प्लान्ट कब्जामा लिएका थिए। बिहीबार जेपोरजिया प्लान्टमा कब्जा जमाएपछि रुसी सैनिकको ध्यान युजाक्रिन्स्क पावर स्टेसनमा देखिएको छ।