काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा आफ्नो अवस्था कठिन भएको बताएका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सम्बन्ध कठिन क्षणमा पुगेसँगै यस्तो अवस्था आएको बताएका हुन् ।
शुक्रबारदेखि काठमाडौँको राष्ट्रियसभामा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रचण्डसँग लामो सम्बन्ध भएको स्मरण गरे । तर, पछिल्लोपटक प्रचण्डले पत्रकार सम्मेलन गरी पार्टी छोड् भनेको बताउँदै उनले कठिन अवस्था आएको बताए ।
उनले ऐतिहासिक मोडमा कसैले गम्भीर गल्ती गर्न नहुने बताएका थिए । श्रेष्ठसहित पाँच नेताले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टी निर्णयको विरोध गरेका थिए ।
गत १६ फागुनमा पत्रकार सम्मेलन गरी प्रचण्डले श्रेष्ठको नाम लिँदै पार्टीमा फरक मत राख्न पाउने बताउँदै सेन्टिमेन्टमा आउन जरुरी नभएको बताएका थिए । यसै क्रममा उनले श्रेष्ठलाई पार्टी छाड्नसमेत चुनौति दिएका थिए ।
प्रचण्डको अभिव्यक्तिसँगै नारायणकाजी समूहमा पार्टी छाड्नु पर्ने दबाब आएको छ ।