व्यक्तिले आफ्नो समस्या थाहा नपाई आफूखुशी डाक्टरलाई नभेटी फुलबडी, होलबडी चेकअप गराइरहेका हुन्छन्। तर, फुलबडी, होलबडी जाँचमा तत्काल समस्या नदेखिए पनि कतिपयमा पछि दीर्घकालीन जटिल प्रकारका समस्याहरू देखिन सक्छन्।
होलबडी, फुलबडी भनी विभिन्न किसिमको जाँच गराइन्छ। जाँचमा तत्कालै कुनै समस्या नदेखिए पनि त्यसले व्यक्तिलाई निरोगी हो भनेर प्रमाणित गर्न सक्दैन। हामी यदि आफूलाई रोग लागेको छ भने सम्बन्धित चिकित्सकहाँ गएर परामर्श लिनुपर्छ। र, त्यससम्बन्धी जाँच गर्नुपर्छ। कहिले-कहिले के जाँच गर्ने भन्ने मेडिकल क्राइटएरियाहरू उमेर, समस्या र पारिवारिक र जेनेटिक रोगहरूबाट थाहा हुन्छ।
होलबढी चेकअप भन्नाले के-के जाँच गरिसकेपछि होलबडी भन्ने त? होलबडी चेकअप एमआरआई गरेर भन्ने कि सिटीस्क्यान गरिसकेपछि? इन्डोस्कोपी गरेर भन्ने कि? तर, अस्पतालहरूमा भएका सुविधाहरू दिएर यही नै हो होलबडी चेकअप भन्ने गरेको पाइन्छ।
समस्या भयो भने जँचाउनुपर्छ। तर, जनरल चेकअप गर्नुपर्छ। बालबालिकामा कुनै समस्या छ भने ल्यापटेस्ट भनेको छ भने गर्नुपर्छ। १८ वर्ष उमेर काटेका व्यक्तिहरूमा एकपटक जनरल चेकअप गर्नुपर्छ भनिन्छ। जनरल चेकअपमा साधारण रगत परीक्षण, मिर्गौलाको परीक्षण, सुगर, थाइराइड, सीबीसी काउन्ट र यदि आफूलाई कुनै रोगको लक्षण देखापरेको छ भने मुटुको जाँच गरिन्छ। र, यसको जाँच गरेर व्यक्ति स्वस्थ छ भन्ने बुझ्न सकिन्छ।
३५ वर्ष कटिसकेका व्यक्तिलाई समस्याका आधारमा जाँच गरिन्छ। सबै व्यक्तिमा होलबडी, फुलबडीको प्याकेजअनुसारको जाँच नहुन सक्छ।
भ्रम र यथार्थ
वास्तवमा डाक्टरकहाँ कुन बेला जाने, कतिखेर हाम्रो शरीरको जाँच गर्ने भन्ने कतिपय भ्रम छन्।
एउटै बिरामीले वर्षमा तीनपटक एउटै जाँच गरिरहेको हुन्छ। एकपटक जाँच गरिसकेपछि पटक-पटक गरिरहनु पर्दैन। जस्तै- कुनै बिरामीको मुटुसम्बन्धी रोग रहे-नरहेको स्क्रिनिङ गरिन्छ। त्यो व्यक्तिमा समस्या छैन भने ३-३ महिना या वर्षैपिच्छे मुटुको जाँच गरिराख्नु पर्दैन। ३ वर्षमा एकपटक गरे पुग्छ। उमेरअनुसार शरीरको समस्या चिकित्सकलाई भन्ने र चिकित्सकको सल्लाहबमोजिम भनिएको जाँच मात्र गर्ने गर्नुपर्छ।
कतिपय समस्यामा जाँचका क्रममा बोर्डरलाइन देखाइरहेको हुन्छ। त्यो बोर्डर लाइनको खासै महत्त्व हुँदैन। तर, व्यक्ति आफैंले आफ्नो रगत परीक्षण गर्छन् र हाइलाइट भएका चिजहरू गुगल गरेर हेर्छन्, जसले गर्दा नराम्रो रोगहरू देखाउने हुन्छ। क्यान्सरहरू देखाइरहेको हुन्छ। नराम्रा दीर्घरोगहरू देखाइरहेको हुन्छ। र, मानिसको मानसपटलमा मलाई कुनै ठूलै रोग लागेको हो कि भनेर एउटा स्वस्थ व्यक्ति मानसिक रोगीमा परिणत हुन जान्छ।
भिडियो एक्सरे गर्ला माइन्ड फ्याक्टिलेभर भनिदिएको हुन्छ। तर, आत्तिनु पर्दैन, खानपानमा नियन्त्रण र व्यायाम गर्ला आफैं निको भएर जान्छ। तर, यसलाई तर्साएर पछि गएर कलेजो बिग्रनेलगायत अन्य समस्या देखिन्छ भन्ने बुझ्यो भने मानिसलाई मानसिक बिरामी बनाउँछ। त्यसैले होलबडी, फुलबडी चेकअप गराउन त्यति उचित हुँदैन। तर, जनरल चेकअप गराउनुपर्छ। आफ्नो उमेरअनुसार चिकित्सकले भनेअनुसार मात्र रगतको जाँच गराउनुपर्छ।
होलबडी चेकअप गरिन्छ भनेर विज्ञापनहरूमा विभिन्न आकर्षक अफर राखिएको हुन्छ। यसमा यति डिस्काउन्टदेखि निःशूल्कसम्मका अफरले बिरामीलाई झुक्याउँछन्। यस्ता भ्रममा पर्नु हुँदैन। जहिले पनि पहिला चिकित्सकलाई भेट्ने र आफनो समस्या राख्नुपर्छ। यदि कुनै समस्या छैन भने उमेरअनुसार पारिवार रोगको समस्याबारे बताउने र आफूले के-के जाँच गरे आफू स्वस्थ छु भन्ने थाहा हुन्छ भन्नेबारे प्रष्ट रूपमा भन्नुपर्छ। सोहीअनुसार चिकित्सकहरूले परामर्श दिई गर्नुपर्ने जाँचबारे बताउने गर्छन्।
१८ वर्षमुनिका बालबालिकामा कुनै समस्या देखिएको छैन, स्वस्थ छ भने जाँच गर्नु हुँदैन। यदि बच्चा प्रोप्पर डिप्लोयमेन्ट भएको छैन, रुघाखोकी पटक-पटक लागिरहन्छ, स्याँस्याँ भइरहन्छ, तौल बढेको छैन भने मात्र त्यस्तो बालबालिकालाई चिकित्सकको परामर्शमा जाँच गर्नुपर्छ।
१८ वर्षभन्दा बढीका व्यक्तिहरूले जाँच गराउनुअघि जनरल फिजिसियनलाई आफ्ना कुराहरू राख्नुपर्छ। कतिपय व्यक्तिमा प्रेसर भएको थाहा नहुने हुन्छ। वर्षमा एकपटक प्रेसर, सुगर, थाइराइड, शरीर दुख्ने समस्या छ भने भिटामिनको जाँच गर्नुपर्छ। केही समस्या छैन भने खासै जाँच गर्नुपर्दैन।
बिरामीको हिस्ट्रीबारे जानकारी लिएसँगै कुनै समस्या लागेमा जाँच गर्नु भनेर डाक्टरले अह्राउँछन्। उमेर ३५ वर्षभन्दा माथि भइसकेको छ भने महिला र पुरुषहरूमा एक किसिमको जाँच हुन्छ। एउटै किसिमको लिस्ट महिला र पुरुषलाई हुन्छ भन्ने हुँदैन। फुलबडी चेकअपको नाममा एउटा लिस्ट दिने गरेको पाइन्छ। तर, त्यो उपयोगी नहुन पनि सक्छ। फुलबडी चेकअप गरेको छु, अब केही भएको छैन भनेर बस्दा पछि कुनै समस्या देखिन सक्छ। त्यसैले समस्या र उमेरअनुसार चिकित्सकको परामर्श लिएर मात्र चेकअप गराउनुपर्छ।
जाँचको नाममा चिकित्सकले कमिसन पाउँछन् भनेर विभिन्न परीक्षण गराउन लगाउँछन् भन्ने कतिपयमा भ्रम पनि देखिन्छ। तर, सबै चिकित्सक एउटै हुँदैनन्। आफूलाई विश्वास लाग्ने जनरल ओपीडीमा आफ्नो समस्या भन्न सकिन्छ। र, केही भएको छैन भने बताएको हिस्ट्रीका आधारमा जाँच गराउन सक्छन्। यो फाइदाजनक हुन्छ।
कुनै व्यक्ति धुम्रपान, मद्यपान गरिरहेको छ। फुलबडी चेकअप गराउँछु अनि म्यानेज गर्छु भन्ने हुन्छन्। चेकअपमा कुनै समस्या नदेखिँदा कुनै समस्या छैन खाँदा के फरक पर्छ भन्ने हुन्छ। र, पुनः त्यस्ता चिजहरूमा प्रोत्साहन बढेको पाइन्छ। र, उनीहरूमा गलत किसिमको भ्रम पनि हुन्छ। तर, पछि समस्या जटिल रूपमा देखिने हुन्छ। उपचार नलाग्ने पनि हुन्छ।
यस्ता किसिमको होलबडी चेकअपले नराम्रो किसिमको बिरामीलाई भ्रम पनि दिने गर्छ। अहिले केही भएको छैन भनेर बुझ्ने हुन्छ। कुनै व्यक्तिले ईसीजी र इको जाँच गर्छन्। अनि रिपोर्टमा केही देखिँदैन। खानपान बार्दैनन्। र, पछि समस्या देखिन सक्छ। ईसीजी र इको गर्दैमा मुटुमा समस्या छैन भन्ने हुँदैन। त्यसका लागि अन्य जाँचहरू गर्नुपर्ने हुन्छ। समस्याअनुसार जाँच गर्नुपर्छ। यदि समस्या छैन भने उमेरअनुसार चिकित्सकको सल्लाहबमोजिम जाँच गर्नुपर्छ।
के गर्ने के नगर्ने?
– यदि आफूमा समस्या छ भने समस्याबारे फिजिसियन डाक्टरलाई बताउने र फिजिसियनको सल्लाहबमोजिम जाँच गर्ने। आफूले गर्न लागेको जाँच केको लागि र के-के थाहा हुन्छ भन्नेबारे प्रष्ट रूपमा सोध्ने।