काठमाडौं- ललितपुर ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित नमस्ते पेट्रोल पम्प अगाडि सडकमा हाल नम्बर नखुलेको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रौतहट चपुर घर भएकी ६ वर्षीया अनुस्का जैसवालको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भी घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
रुपन्देही सैनामैना नगरपालिका-४ रन्यौरास्थित सडकमा लु.२ ख ४३२६ नम्बरको टिपरले साइकललाई बिहीबार साँझ ठक्कर दिँदा साइकलमा सवार सोही नगरपालिका-७ देउपार बस्ने २६ वर्षीया दिल कुमारी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको साझा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै साइकल चालक दिल कुमारीका पति २७ वर्षीय बद्री चौधरी र उनीहरूकी छोरी ४ वर्षीया जेनिसा चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाग्लुङ गल्कोट नगरपालिका-६ दर्मुस्थित सडकमा ग.२ त २९७८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेर गएराति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-५ हरीचौर बस्ने दाङ घर भएका ४५ वर्षीय जगदिश चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।