काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिका ५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिनाअघि शारीरिक रुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई साङ्लोले बाँधेर राखिएको हो ।
उनका बुबा सेवुलालका अनुसार आकाशले घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थालेपछि साङ्लोले बाधेर राखिएको हो ।
आफ्नो आर्थिक अवस्था कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म लैजान नसकेको सेवुलालको भनाई छ । दुई छोरामध्ये कान्छा छोरा हुन् आकाश । सेबुलालले भने, ‘यसको आमा पनि छैन, सानैदेखि दुई छोराको लालनपालन गरिरहेको छु, मजदुर गरेर जसोतसो घर चलाउँदै थिए, अब चाँहि मुस्किल भयो ।’
यसैबीच सोही ठाउँका सामाजिक अभियानकर्मी कैशल भण्डारीले आकाशको उपचारका लागि सहयोग जुटाइदिन सबैसँग आग्रह गरे । उनले राम्रो उपचार पाए बालक ठिक हुने भन्दै सहयोगीसमक्ष आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका हुन् ।