• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

चट्टाने पहरा फोरेर चीनसँग सडक सञ्‍जालमा जोडिँदै किमाथांका


बिहिबार, फागुन १७, २०८० मा प्रकाशित

काठमाडौं- तमोर करिडोरले ताप्लेजुङको ओलाङचुङगोलालाई उत्तरी छिमेकी चीनसँग जोडेसँगै अब पूर्वको अर्को करिडोर कोशीतिर ध्यान गएको छ, जसले किमाथांकालाई चीनसँग जोड्नेछ।

Advertisement

पूर्वी नेपाललाई भारतसँगै चीनसँग जोड्न दुई दशकअघि कोशी करिडोर आयोजना शुरु गरिएको थियो। रणनीतिक महत्त्वको यो आयोजनाका लागि ०६५ सालमा खाँदबारीमा सडक आयोजनाको कार्यालय नै स्थापना गरी काम थालेको थियो। पछि संघीय सरकारले राष्‍‍ट्रिय गौरवको आयोजनामा राखेपछि किमाथांका नाका चीनसँग जोडिने तरखरमा छ।

दक्षिणमा भारतसँगको जोगबनी नाकाबाट शुरु हुने कोशी करिडोर उत्तरमा चीनको किामाथांसम्म पुग्‍नेछ। यसको लम्बाई ३९० किलोमिटर छ, जुन उत्तर र दक्षिण जोड्ने सबैभन्दा छोटो मार्ग पनि हो।

यो मार्गको खाँदबारीभन्दा दक्षिणको खण्ड कालोपत्र भइसकेको छ। उत्तरी खण्ड निर्माणाधीन अवस्थामा छ। आयोजनाका अनुसार उत्तरतिरको १६२ किलोमिटर खण्डमा स्तरोन्‍नति तथा ट्र्याक खोल्ने कार्य भइरहेको छ। यो सडकले खाँदबारी नगरपालिका, मकालु गाउँपालिका र भोटेखोला गाउँपालिका हुँदै चीनसँगको जोडिएको किमाथांकालाई जोड्छ। यससँगै ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना र मकालु राष्‍ट्रिय निकुञ्‍जको समेत पहुँच मार्गका रूपमा यही सडक छ।

यो सडक खण्डमध्ये १०.५१ किलोमिटर भने छिचोल्न मुस्किल छ। चट्टानैचट्टान भएको यो खण्डमा भने निर्माणको काम नेपाली सेनालाई जिम्मा दिइएको छ। २४ माघ ०७७ देखि सेनाले ट्र्याक खोल्न शुरु गरेकामा अहिले अन्तिम चरणमा पुगेको छ।

नेपाली सेनाका अनुसार कोशी करिडोरअन्तर्गत खाँदबारी-किमाथांका सडकको च्याम्ताङदेखि घोङगोप्पासम्म १०.५१ किमि ट्रयाक खोल्ने काम भइरहेको छ। अहिलेसम्म ७.६० किलोमिटर ट्र्याक खोलिसकिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्‍‍णप्रसाद भण्डारी बताउँछन्।

सेनाले पहिलो वर्ष विस्तारै काम शुरु गरेको थियो। आर्थिक वर्ष ०७७-७८ मा ५०० मिटर ट्र्याक खोलेको थियो। त्यसपछि भने कामको गति बढाउँदै लगेको छ।

आव ०७८-७९ मा २.५ किलोमिटर ट्र्याक खोलेको थियो। तेस्रो वर्ष अर्थात् आव ०७९-८० मा ३.५ किमि ट्र्याक तयार भएको थियो।

चालु आव ०८०-८१ मा पनि कामको प्रगति सन्तोषजनक रहेको सहायक रथी भण्डारी बताउँछन्। उनका अनुसार चालु आवमा दुई किमि ट्र्याक तयार गर्ने लक्ष्‍‍य छ। हालसम्म १.१ किलोमिटर ट्र्याक खुलिसकेको छ। अब ९०० मिटर मात्रै बाँकी छ, ट्र्याक खोल्न।

बाँकी दुई किमि आगामी आर्थिक वर्षमा खोलिने सेनाले जनाएको छ। सेनाका प्रवक्ता भण्डारीका अनुसार सडकको ट्र्याक खुलेसँगै सडक स्तरोन्‍नतीको काम पनि भइरहेको छ। ‘ट्र्याक खोल्ने एउटा काम भयो, खोलिसकेको खण्डमा सडक चौडा बनाउने, नाली निर्माणलगायत स्तरोन्‍नती पनि सँगै भइरहेको छ,’ सैनिक प्रवक्ता भण्डारी भन्छन्, ‘अहिलेसम्म लक्ष्‍‍यअनुसारको काम भइरहेको छ।’

२४ माघ ०७७ देखि सेनाले काम थालेसँगै आव ०८१-८२ सम्ममा ट्र्याक खोली सडक स्तरोन्‍नतीको काम सम्पन्‍न गर्ने लक्ष्‍‍य छ। सोहीअनुसार काम भइरहेको सेनाले जनाएको छ। हालसम्म भौतिक प्रगति ५४.२० प्रतिशत छ भने वित्तीय प्रगती ५५.८८ प्रतिशत।

चट्टानको पहरा फोरेर ट्र्याक खोलेपछि चर्चित जोगबनी-किमाथांका मार्गको काम पूरा हुनेछ। यसले भारतको जोबगनीदेखि संखुवासभाको भोटखोला गाउँपालिकामा पर्ने किमाथांका हुँदै चीनसँग सडक जोड्नेछ।

सरकारले चट्टान भएको क्षेत्र सेनाको सहयोगमा खुलाएर चाँडै किमाथांका जोड्ने बताएको छ। संघीय सरकारले बजेट प्रस्तुत गर्ने क्रममा छिमेकी मुलुक भारत र चीनसमेत जोडिने यो सडकको मुख्य काम यसै आर्थिक वर्षभित्र सक्ने घोषणा गरेको थियो। स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार र संघीय सरकारले यो सडकलाई उच्च महत्त्व दिएका छन्। चीनसँग सोझै सडक जोडिएर नयाँ नाका खुल्नु उत्साहजनक भएको उद्योगी-व्यवसायीलगायत सरोकारवालाहरू बताउँछन्।

सडक पूरा भएर व्यवस्थित बनेपछि आर्थिक गतिविधि तीव्र रूपमा बढ्ने आशा गरिएको छ। जोगबनी-किमाथांका मार्ग कोशी प्रदेश मात्र होइन, मुलुककै समृद्धिमा महत्त्वपूर्ण मानिएको छ। व्यापारिक महत्त्वको यो सडक मोरङको रानीस्थित जोगबनी सीमादेखि संखुवासभाको किमाथांकासम्म पुग्छ।

मोरङबाट सुनसरी, धनकुटा र तेह्रथुम हुँदै संखुवासभाको चीन सीमासम्म जोडिने यो सडकको खाँदबारीसम्म कालोपत्रे भइसकेको छ। बीचका केही स्थानमा सडक बिग्रिए पनि त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको आयोजनाले जनाएको छ।

सडक निर्माणले नेपालको व्यापार विस्तार हुने आशा गरिएको छ। उत्तर तथा दक्षिण सीमाबाट चीन र भारतका प्रमुख व्यापारिक शहर पनि छोटो दूरीबाट जोडिनेछन्।

किमाथांकाबाट तिब्बती शहर ल्हासा र ठूलो व्यापारिक शहर सिगात्से पनि छोटो दूरीमा पर्ने भएकाले व्यापार विस्तारमा ठूलो सहयोग पुग्‍ने जानकारहरूको भनाइ छ। किमाथांका नाकाबाट चीनको व्यापारिक शहर सिगात्से करिब ३०० किलोमिटर दूरीमा छ। किमाथांका सडकका कारण नेपालबाहेक अरू चार मुलुकसमेत प्रत्यक्ष-अप्रत्यक्ष जोडिन सक्ने जानकारहरू बताउँछन्। उनीहरूका अनुसार किमाथांका सडक बनेपछि विराटनगर चीन, भारत, भुटान र बंगलादेशबीच जोडिन सक्छ।

कसरी भइरहेको छ काम ?

सेनाले च्याम्ताङको जिरो पोइन्टबाट यो सडकको ट्र्याक खनिरहेको छ। शंखेभीरमा अड्केको छ यो सडकको ट्र्याक। च्याम्ताङबाट घोङगोप्पासम्मको सडक सेनाले निर्माण गरिरहेको छ। शंखेभीर च्याम्ताङ र छुम्सुरको बीचमा पर्छ।

नेपाली सेनाले नौ मिटर चौडाइको ट्र्याक खोलिरहेको छ। शंखेभीर फोरेर ट्र्याक तयार हुनासाथ किमाथांकसम्म धुले सडक तयार हुनेछ।

भोटखोला गाउँपालिकाको बरुण बजारभन्दा माथिका बासिन्दाले यो सडक तयार नहुँदा सास्ती खेप्नुपरिरहेको छ। बरुण नदीले ह्युम पाइप नै बगाइदिन्छ। त्यसपछि हटिया, हुंगुङ, लिंगम, चेपुवा, च्याम्ताङ, छुम्सुर, रिदाक, छुदाम र किमाथांकका बासिन्दा खाँदबारीसँग सम्बन्ध विच्छेदको अवस्थामा रहन्छन्।

‘अहिले हामी अन्तिम ट्र्याक ओपनिङको चरणमा छौं,’ एक सैनिक अधिकारीले भने, ‘हिउँदमा हिउँ र वर्षामा आकाशे पानीले डिस्टर्ब गर्छ। तै पनि सारा उपाय लगाएर काम गरिरहेका छौं।’ उनका अनुसार असोज, कात्तिक, मंसिर र पुसमा सडक निर्माणका लागि कुनै अवरोध हुँदैन। सोही समयमा सेनाले ट्र्याक ओपनिङलाई तीव्रता दिने गरेको छ।

हेलिकोप्टरबाट विष्‍‍फोटक पदार्थ निर्माण स्थलमा पुर्‍याएर सेनाले ट्र्याक ओपनिङको काम गरिरहेको छ। गत फागुनमा त्यहाँ पुर्‍याइएको २४ टन विष्‍‍फोटक पदार्थले अहिले काममा तीव्रता दिइएको ती सैनिक अधिकारी बताउँछन्।

‘एकदमै जटिल भूगोल छ। तै पनि हामीले डबल लेनको ट्र्याक तयार गरिरहेका छौं,’ उनी भन्छन्। उनका अनुसार सेनाले खुलाइरहेको ट्र्याकमा सडक किनाराको नाला पनि निर्माण गरिएको छ।

सेनाले काम गरिरहेको स्थलमा पुग्‍न भोटखोला गाउँपालिकाको गोला बजारबाट दुई दिन पैदल यात्रा गर्नुको विकल्प छैन। खाँदबारीबाट गोला बजारसम्म सडक त पुगेको छ तर एकदमै जिर्ण छ यो। यो सडकको स्तरोन्‍नती नहुँदा गोला बजारसम्म मुस्किलले सार्वजनिक सवारी साधन चल्छन्।

यही सडकमा पनि ट्राफिक जाम हुन्छ। निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाका निर्माण सामग्री लिएर जाने ट्रकहरूका कारण ट्राफिक जामको समस्या भएको हो। त्यसै त जिर्ण सडक, त्यसमाथि ठूलो भारवहन क्षमताका सवारी साधन चलाउनैपर्ने बाध्यताका कारण यो सडक झनै जिर्ण बनेको छ। स्तरोन्‍नतीको काम खाँदबारीमै अलपत्र छ। खाँदबारी बजार क्षेत्रमै जिर्ण रहेको सडकका कारण सवारी साधन फसिरहेको दृश्य अनौठो होइन।

सरकारले तीन वर्षअघि शंखेभीरमा ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो। पहिलो वर्ष सेनाले बंकर तयार पार्‍यो, सैनिकहरूको बास र निर्माण सामग्री राख्ने टहराहरू निर्माण गर्‍यो। र, पाँच सय मिटर सडक पनि खन्यो। त्यस वर्षको टार्गेट सेनाले पूरा गर्‍यो। दोस्रो वर्ष २.५ किलोमिटरको ट्र्याक तयार भयो। आव ०७९-८० को लक्ष्‍‍य पनि पूरा गर्‍यो। र, आव ०८०-८१ को लक्ष्‍‍य पनि भेट्ने क्रममा छ।

शंखेभीर फुटाउन करिब डेढ सय नेपाली सेना परिचालित छन्। ‘यो सडकको ट्र्याक खोल्ने जिम्मा पाउनु सेनाका लागि गौरवको विषय र अवसर पनि हो,’ ती सैनिक अधिकारी भन्छन्, ‘त्यसैले पाएको जिम्मेवारी समयमै सम्पन्‍न गर्न दत्तचित्त छौं।’

यो सडक निर्माणमा निरन्तर करिब तीन सयजनाले काम गरिरहेका छन्- डेढ सय सैनिक र त्यति नै संख्याका स्थानीय बासिन्दा। अर्थात्, किमाथांक सडक निर्माणमा करिब डेढ सय स्थानीय बासिन्दाले पनि रोजगारी पाएका छन्। सेनाको ठूलो संख्या परिचालित रहेकाले स्थानीय कृषि उपजको खपत बढेको छ।

त्यस क्षेत्रमा खसीको मासुको दाम प्रतिकिलो १३ सय रुपैयाँ छ। किसानले घरमा पालेका कुखुरा र अण्डाले पनि भाउ पाएका छन्। एउटा कुखुराको भालेको दाम पाँच हजार रुपैयाँसम्म पर्छ त्यहाँ। स्थानीय स्तरमा उत्पादित आलुलगायत कृषि उपज खपत भइरहेको छ।

स्थानीय बासिन्दासँग दरिलो सम्बन्ध बनाउन सेनाले ‘सैनिक-नागरिक सम्बन्ध’ अभियान नै चलाएको छ। बिजुलीको ट्रान्सफरमर घेराबन्दी गर्ने, विद्यालयहरूमा स्टेसनरी सामग्री वितरण गर्ने, कम्प्युटर, प्रिन्टरलगायत सामग्री हस्तान्तरण, स्थानीय क्लबहरूलाई खेलकुद सामग्री वितरण तथा आमा समूहहरूलाई आवश्यक सामग्री हस्तान्तरणलगायत काम गर्छ, सेनाले उक्त अभियानमार्फत।

अप्ठ्यारो भीरमा स्थानीय बासिन्दालाई समेत उत्साहपूर्वक सहभागी गराएर सेनाले सडक खनिरहँदा यसअघि नै ट्र्याक तयार भएको खण्डमा स्तरोन्‍नतीको काम भने सुस्त छ। हालसम्म पाँच प्रतिशत पनि स्तरोन्‍नतीको काम भएको छैन। सडक बिगारेको दोष अरुण तेस्रो जलविद्युत आयोजनामाथि थोपरेर सडक डिभिजनका अधिकारीहरू सुतेर बसेका छन्।

यो सडकको ट्र्याक तयार भइसकेका खण्डमा कालोपत्रे नहुँदा भोटखोलाका बासिन्दाले खाँदबारीबाट गाउँ पुगेको २ हजार रुपैयाँ पर्ने चामल ४ हजार रुपैयाँमा खरिद गर्नु परिरहेको छ। वर्षामा हिलो र हिउँदमा धुलो अनि ठूला सवारी साधन गुड्दा बनेका ठूला खाडल। खाँदबारी-किमाथांक सडकको ट्र्याक तयार भइसकेका खण्डमा सवारी साधन गुडाउन र ती सवारी साधनमा यात्रा गर्नुको सास्ती भनिसाध्य छैन।

खासमा, विश्‍व बैंकको सहयोगमा यो सडक निर्माणाधीन छ। ट्र्याक ओपन सँगसँगै सडक स्तरोन्‍नती पनि अगाडि बढाउने विश्‍व बैंकसँग सम्झौता भएको छ।

मकालु गाउँपालिकाको नुमका काजीमान गुरुङ गत वर्ष निर्वाचित सांसदहरू र सरकारले यो सडकलाई पहिलो प्राथमिकता दिएर काम अगाडि बढाउनुपर्ने बताउँछन्। यस्तै धारणा छ, चिचिला, मकालु र भोटखोलाका अधिकांश बासिन्दाको पनि। किनकि, ती गाउँपालिकाका लागि जोगवनी-किमाथांक सडक र नेपाल-भारत-चीन त्रिदेशीय व्यापार नै समृद्धिको मुख्य आधार हो।

भोटखोला गाउँपालिकाका कांग्रेस नेता पासाङ खम्बा भोटे त्यसैमा जोड दिन्छन्। यो सडक जोडिएपछि भोटखोला गाउँपालिका-१ किमाथांकमा भन्सार स्थापना हुनेछ। यो गाउँपालिका साविकका किमाथांक, चेपुवा, हटिया, पावाखोला (१-३ वडा)हरू गाभिएर बनेको छ। ‘हाम्रा लागि पहिलो शर्त नै जोगवनी-किमाथांक सडक हो,’ पासाङ भन्छन्, ‘त्यसपछि मात्र खानेपानी, स्वास्थ्य, शिक्षाको कुरा आउँछ।’ उनका अनुसार राज्यले उपलब्ध गराउने आयोडिनयुक्त नुन पनि भोटखोला क्षेत्रको मुख्य आवश्यकता हो। ‘तर, नुन र मल जिल्ला (सदरमुकाम खाँदबारी)मै हराउँछन्,’ उनी भन्छन्, ‘रेकर्ड यताको रहन्छ तर नुन र मल खाँदबारीमै हराउँछन्।’

भोटखोलाकै माओवादी नेता भरत राई पनि किमाथांक सडक जति चाँडो जोडिन्छ, त्यति नै छिटो यस क्षेत्रका बासिन्दाको दुःख अन्त्य हुने बताउँछन्।

संखुवासभा प्रदेश ‘क’का पूर्वसांसद पूर्णप्रसाद राई फ्याक्सिन्दादेखि खाँदबारीसम्मको खण्डमा ठेकेदारको लापरवाहीकै कारण सडक स्तरोन्‍नती हुन नसकेको बताउँछन्। खाँदबारी-छ्यांकुटी, छ्यांकुटी-देउराली र देउराली-नुम गरी तीन खण्डमा बाँडेर सडक कालोपत्रेको ठेक्का लागेको छ। तर, ठेकेदारले लापरवाही गरेकै कारण यो सडक कालोपत्रे हुन नसकेको हो।

‘सेनाले ट्र्याक ओपन गरिरहेको भीर अत्यन्तै कठिन भूगोल छ। तै पनि, सेनाले जसरी रफ्तारमा काम गरिरहेको छ, छिट्टै किमाथांक राष्‍‍ट्रिय सडक सञ्‍जालमा जोडिने निश्चित छ,’ पूर्वसांसद राई भन्छन्।

मकालु गाउँपालिकाको सीमा बजारमा काजीमान गुरुङ भन्छन्, ‘किमाथांक सडक नै अहिलेको समस्या र भविष्‍‍यको आशा हो, संखुवासभाको उत्तरी क्षेत्रको।’ मकालु गाउँपालिकाकै पूर्वअध्यक्ष तेजबहादुर पोखरेल संखुवासभाको उत्तरी भेगलाई देशी-विदेशी पर्यटनसँग जोड्न पहिलो शर्त नै सडक भएको बताउँछन्।

बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.