छिमेकी मुलुक युक्रेनमाथि हठात आक्रमण गरेर विश्व राजनीतिमै अनिष्ठ निम्त्याएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग वार्ताका लागि तयार भएका छन्। अमेरिका, युरोपलगायत पश्चिमा मुलुकको आर्थिक प्रतिबन्धका कारण रुसको अर्थतन्त्र पनि संकटमा फस्दै गएको छ।
युक्रेनको उत्तरी छिमेकी बेलारुसले दुई मुलुकको सीमामा रुससँग वार्ताका लागि ठाउँ तयार भएको बताएको छ। युक्रेन र रुस दुवै वार्ताका लागि आफ्ना राजदूत पठाउन तयार देखिएका छन्।
बेलारुसको विदेश मन्त्रालयले आफ्नो सामाजिक सञ्जालमा युक्रेन र रुसबीच हुने वार्तास्थलको तस्बिर सार्वजनिक गरेको हो। र, प्रतिनिधिमण्डल उक्त स्थलमा पुग्नासाथ वार्ता शुरु हुने उल्लेख गरेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट कुनै परिणाम ननिस्किने बताएका छन्। तै पनि, वार्ताका लागि आफूहरू तयार भएको उनको भनाइ छ।
यसैबीच, अमेरिका, क्यानाडा र युरोपेली मुलुकले धमाधम आर्थिक प्रतिबन्ध लागू गरेपछि रुसको अर्थतन्त्र संकटमा फस्दै गएको छ। रुसी नागरिकहरूले बैंकमा रहेको आफ्नो सम्पत्ति धमाधम निकालिरहेका छन्।
बैंकको मौज्दात घट्दै गएपछि रुसको केन्द्रीय बैंकले व्याजदर दोब्बरभन्दा बढी बनाएको छ। हालसम्म ९.५ प्रतिशत रहेको व्याजदर २० प्रतिशत पु¥याइएको छ। पश्चिमा मुलुकको आर्थिक प्रतिबन्धका कारण रुसी मुद्रा रुबेलको मूल्यमा सोमबार तीव्र गिरावट देखिएको छ।