पूर्वसचिव तथा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन मुद्दा दायर गरेको छ।
उनीविरुद्ध दर्ता भएको उजुरीपछि अनुसन्धानका क्रममा चार करोड ४५ लाख २७ हजार रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार श्रेष्ठ शिक्षक थिए र राजीनामा दिएर शाखा अधिकृत बनेका थिए।
त्यसपछि विभिन्न मितिमा बढुवा हुँदै नेपाल सरकारको सचिव बनेका थिए। ८ माघ ०६४ मा अनिवार्य अवकाश पाएका उनी ६ चैत ०६९ देखि २९ माघ ०७० सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्री बनेका थिए।
उनी सार्वजनिक सेवा प्रवेश गरेको १८ चैत ०२६ देखि ८ पुस ०७२ सम्मको अवधिमा उनले ६ करोड ९० लाख १६ हजार रुपैयाँ आर्जन गरेका थिए। त्यस अवधिमा उनले गरेको ११ करोड ३५ लाख ४४ हजार रुपैयाँ खर्च गरेको देखिएको छ। व्ययमा आय घटाउँदा चार करोड ४५ लाख २७ हजार रुपैयाँको स्रोत नखुलेको अख्तियारको भनाइ छ।
अीख्तयारले स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनले गैरकानूनी सम्पत्ति आर्जन गरी श्रीमती सरस्वती र छोरा सरोज श्रेष्ठको नाममा सम्पत्ति राखेको भेटिएको अख्तियारले जनाएको छ। मुद्दामा उनकी श्रीमती र छोरालाई पनि प्रतिवादी बनाइएको छ।