युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसी सेना प्रवेश गरेको छ। यसअघि रुसी सेनाले नोभा काखोभ शहर कब्जामा लिएको थियो।
खार्किभमा रुसी सेना प्रवेश गरेको पुष्टि एक स्थानीय सरकारी अधिकारीले गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार किभमा हवाई आक्रमणको चेतावनी जारी गरिएको छ।
खार्किभका क्षेत्रीय प्रशासन प्रमुखले रुसका हलुवा सैन्य वाहन उक्त शहरमा प्रवेश गरेका छन्। सँगसँगै रुसका बख्तरबन्द गाडीहरू पनि उक्त शहरको सडकमा देखिएका छन्।
स्थानीय प्रशासनले शहरका बासिन्दालाई घरभित्रै बस्न अपील गरेको छ। र, आ–आफ्नो सेल्टर नछाड्न निर्देशन दिएको छ। सडकमा ननिस्कन पनि प्रशासनले भनेको छ।
यसअघि रुसले कब्जामा लिएको नोभा काखोभ शहर सानो तर रणनीतिक हिसाबबाट महत्त्वपूर्ण शहर हो। यो शहर एक नदीको किनारमा छ, जहाँबाट क्रिमियामा पानी आपूर्ति हुन्छ।
नोभा काखोभका मेयर भोलोदिमिर कोभालेका अनुसार शहरका सरकारी भवनहरूबाट रुसी सेनाले युक्रेनको झण्डा हटाइदिएका छन्। खासगरी, युक्रेनको दक्षिण भागमा रुसी सेना तीव्र गतिमा अगाडि बढिरहेको छ। खेरसोन, मिकालाइभ र मेलितोपोल शहरलाई कब्जा गर्ने दिशामा रुसी सेना अगाडि बढिरहेको छ।