बाँके– नेपालगञ्ज नेपालको पूरानो शहरमध्ये एक हो। नेपालको नामबाट राखिएको नेपालगञ्जको परिकल्पना श्री ३ जंगबहादुरले गरेका थिए। नयाँ मुलुककको रूपमा चिनिने नेपालगञ्जमा सीमान्तकृत, अल्पसंख्यक समुदायको समेत बसोबास छ। नेपालगञ्ज धार्मिक तथा सामाजिक विविधता भएको शहर पनि हो। यहाँको विविधतामध्ये खानाका परिकार पनि हुन्।
नेपालगञ्जमा पाइने परिकारले यो शहरको परिचय दिन्छन्। पुस्तौंदेखि प्रचलनमा रहेका खानाका परिकारले यहाँका रहनसहन, चालचलन, भाषा, संस्कृतिको परिचय दिन्छन्। अन्य शहरमा पाइने खानाका परिकारभन्दा छुट्टै स्वाद दिने परिकारले नेपालगञ्जलाई चिनाउन मद्दत गरेका छन्। यहाँ निम्न वर्गदेखि उच्च घरानियाले खाने परिकार पाइन्छ।
भारतीय परिकारको प्रभाव नेपालगञ्जमा पनि पनि परेको पाइन्छ। भारत उत्तर प्रदेशको राजधानी लखनऊमा पाइने बिर्यानीले नेपालगञ्जमा पनि ख्याती कमाएको छ। नेपालगञ्जका रैथानेको उठबस, बिहावारी भारतबाट हुने भएकाले पनि भारतीय परिकारको प्रभाव नेपालगञ्जमा परेको हुन सक्छ।
बिर्यानी
बिर्यानी नेपालगञ्जको नाम चलेको परिकारमध्ये एक हो। बाहिरबाट आउने प्रायजसो आगन्तुक बिर्यानीको स्वाद लिन एकलैनी बजार पुग्छन्। इस्लाम धर्मावलम्बीको मुख्य परिकारको रूपमा मानिने बिर्यानीको स्वादले गैरइस्लाम धर्मावलम्बी पनि मोहित हुन्छन्।
बिर्यानी चामल र मासु मिसाएर पकाइन्छ। नेपालगञ्जमा मुवारक बिर्यानी चर्चित छ। एकलैनीको मुवारक बिर्यानीले चर्चा कमाएपछि अहिले नेपालगञ्जमा विभिन्न स्थानमा बिर्यानीको खाजा पसल खुलेका छन्। बिर्यानी धेरै ठाउँमा पाइने भए पनि पकाउने व्यक्तिको कौशलको आधारमा स्वाद फरक हुन्छ।
सेकुवा
नेपालगञ्जको परिकारमध्ये सेकुवा पनि प्रमुख मानिन्छ। धम्बोझी र बीपी चोकका होटलमा सेकुवा खान पाइन्छ। भेरी अस्पताल, पुष्पलाल चोक, क्यूएफएक्स बागेश्वरी सिनेमा हल रोडमा पनि सेकुवाका पसल लस्करै छन्। पहिले खसीको मात्र सेकुवा पाइने नेपालगञ्जमा अहिले बंगुर र लोकल कुखुराको सेकुवा पनि बिक्री हुन थालेको छ। बेलुकीपख नेपालगञ्जको बीपी चोक, धम्बोझी चोक, बागेश्वरी सिनमा हल, भेरी अस्पताल चोकमा सेकुवा खानेको ठूलो भीड लाग्छ।
राबडी
राबडी दूधबाट बन्ने विशेष परिकार हो। तीन पुस्तादेखि त्रिभुवन चोकका मिठाइ पसलमा राबडीको परिकार बिक्री हुँदै आएको छ। गन्यमान्यलाई खुशी बनाउन, ठूलाबडाको आशिर्वाद लिन वा कुनै अल्झेको काम सफल बनाउन नेपालगञ्जीयाले राबडीको कोशेली दिने चलन छ। नेपालगञ्जको राबडी काठमाडौंलगायत देशका ठूला शहर र चारतारे होटलका भान्सामा समेत पुग्छ। नेपालगञ्ज आउने अधिकांश पाहुना राबडी खान त्रिभुवन चोक पुग्छन्।
राबडी प्रतिष्ठित व्यक्तिलाई कोशेली दिने चलन बढेको छ। काठमाडौंका प्रतिष्ठित व्यक्तिलाई भेट्न जाँदा नेपालगञ्जीयाले कोशेलीको रूपमा राबडी लैजान्छन्।
चाट
चाट पनि नेपालगञ्जका प्रख्यात परिकारमध्ये एक हो। चाट खानेमा धेरैजसो महिला हुन्छन्। तै पनि, बाहिरबाट आएकाले समेत नेपालगञ्जको चाटको स्वाद लिन पछाडि पर्दैनन््। नेपालगञ्जमा धेरैथरिका चाटको स्वाद लिन सकिन्छ।
उमालेको आलुबाट चाट बनाइन्छ। उमालेको आलुको बोक्रा फालेर अदुवा, हरियो खुर्सानी, सुजी, सुकेको खुर्सानीको धुलो, जिराको धुलो, चाट मसाला पाउडर, हरियो धनियाँ, अमचुर पाउडर र नुन हालेर आलुको चाट बनाइन्छ।
बोक्रा फालेको थोरै आलुलाई हातमा लिएर चेप्टो बनाएर टिकिया बनाइन्छ। चाट बनाउन प्रयोग हुने तावामा एक चम्चा तेल हालेर तातो बनाउनुपर्छ। टिकियाको दुवैतर्फ खैरो बनाउनुपर्छ। त्यसपछि ग्राहकको मागअनुसार आलुको टिकिया तावामा राखेर फाटेको दही, खजुर, इमलीको चटनी, रातो खुर्सानीको धुलो र नुन हालेर चाट तयार गरिन्छ। ग्राहकको मागअनुसार चाट खट्टो र मिठो बनाइन्छ।
पानीपुरी
नेपालगञ्जको परिकारमध्ये अधिकांशको रोजाइमा पानीपुरी पनि पर्छ। गहुँका स-साना पुरी बनाएर त्यसमा खट्टो, पिरो पानी हालेर पानीपुरी बनाइन्छ। पुरीमा चना वा केराउ हालेर मिठो बनाइन्छ।
एउटा व्यक्तिले कम्तीमा १० वटा पानीपुरी खान्छन्। खट्टो, पिरो मन पराउनेका लागि पानीपुरी अति उत्तम परिकार मानिन्छ। नेपालगञ्जको त्रिभुवन चोक आसपासमा पानीपुरीको व्यापार चम्केको छ।
हलुवा-पराठा
नेपालगञ्ज आउँदा खान छुटाउन नहुने परिकार हो हलुवा पराठा। हलुवा पराठा नेपालगञ्जलाई चिनाउने परिकार हो। नेपालगञ्जमा आउनेहरू हलुवा पराठाको स्वाद लिन चौलिक्का चोक पुग्छन्। ३३ वर्षदेखि यो परिकार बिक्री गर्दै आएका जलिल अहमदले दैनिक १२-१५ किलो हलुवा र पराठा बिक्री गर्दै आएका छन्।
बिहान महेन्द्र बहुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या रुपैडिहा आवतजावत गर्ने बटुवा हुन्, उनको हलुवा पराठा नचाखेका कमै होलान्। ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने उनले अहिलेसम्म नमिठो भयो भन्ने सुन्न परेको छैन। भन्छन्, ‘बरु मिठो भयो भनेर थपेर र पोको पारेर घर लैजानेहरू धेरै छन्।’
हलुवा पराठाको माग बढ्दै गएपछि हाल त्रिवेणी मोड, बागेश्वरी मन्दिरको पूर्वपट्टि पनि केही वर्षदेखि यो परिकारको स्वाद लिन पाइन्छ। शहरका अन्य स्थानमा पनि हलुवा पराठाको माग बढ्दै गएको छ। व्यापारीले २५ रुपैयाँमा एक सय ग्राम हलुवा पराठा दिने गरेका छन्।
चना, पुरी
नेपालगञ्जमा अधिक बिक्री हुने परिकारमध्ये चना, पुरी पनि एक हो। यो परिकार सबैभन्दा धेरै बिहान बिक्री हुन्छ। त्रिभुवन चोक पुगेपछि चना, पुरी खानुको मजा नै बेग्लै ! ठेलामा राखेरै पनि चना, पुरीको व्यापारबाट मनग्य आम्दानी हुने गरेको व्यापारीहरू बताउँछन्।
लस्सी
देशकै अत्यधिक गर्मी हुने शहरमा पर्छ नेपालगञ्ज। त्यसैले गर्मीयाममा यहाँ लस्सीको राम्रो व्यापार हुन्छ। खासगरी, दहीबाट लस्सी बनाइन्छ। तर, उखुको जुसबाट पनि बनाउने गरिएको छ। नेपालगञ्जका विभिन्न स्थानमा यसको व्यापार हुन्छ। खासगरी, त्रिभुवन चोकको लस्सी विशेष मानिन्छ। काम र घुमफिरका लागि नेपालगञ्ज आउनेहरू लस्सीको स्वाद लिएर मात्र फर्किन्छन्।
लस्सीलाई मिठो बनाउन दहीमा नरिबलगायत विभिन्न थरिका मसला राखिन्छ। गर्मीको समयमा लस्सी पिएपछि केही राहत मिल्छ।
घमन्जा
नेपालगञ्जको अर्को विशेष परिकार हो घमन्जा। गरिब, निम्न वर्ग र मजदुरहरू माझ यो परिकार लोकप्रिय छ। थोरै पैसामा पेटभरि खान पाइने भएकाले अधिकांश मजदुर र निम्न वर्गले घमन्जा खान्छन्। ब्रेडको टिकिया, भेडे खुर्सानी, आलु, केराउको तरकारी, काउलीको टिकियालगायत परिकार एउटै ठाउँमा राखेर घमन्जा खान दिइन्छ।
ढिक्री र घोंगी
विभिन्न जातजातिको बसोबास हुन थालेपछि नेपालगञ्जमा अन्य समुदायका परिकार पनि भित्रिन थालेका छन्। नेपालगञ्जमा पछिल्लो समय थारू जातिको प्रचलित तथा मुख्य परिकार ढिक्री, आलुको कचालु, सिद्रा माछा र घोंगीको परिकार पनि थपिएको छ।
थारू जातिका सोमप्रसाद चौधरीले नेपालगञ्जको कारकाँदोमा गोचाली खाजा घर सञ्चालनमा ल्याएर ग्राहकलाई यी परिकार पस्किन्छन्। थारूमा सीमित ढिक्री र घोंगी पछिल्लो समय गैरथारूमा पनि लोकप्रिय छ।