आक्रमण थालेको तीन दिनमै रुसी सैनिक युक्रेनको राजधानी किभ पुगेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सैनिकलाई रोक्न आफ्ना सेनासँग अपील गरेका छन्।
किभको सडकमा ५० भन्दा बढी विष्फोट भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले प्रशासनलाई उद्धृत गर्दै रुसी र युक्रेनका सैनिकबीच युद्ध शुरु भएको जनाएको छ।
समाचार एजेन्सी रोयटर्सले पनि शनिबार बिहानैदेखि राजधानी किभमा गोलीबारीको आवाज सुनिएको जनाएको छ। युक्रेनको प्रशासनले मुख्य सडकमा भिडन्त भइरहेको पुष्टि गरेको छ।
प्रशासनले आफ्ना नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ। घरको छत या बाल्कोनी पनि ननिस्कन प्रशासनले निर्देशन दिएको छ।
किभको पश्चिम दिशाबाट आक्रमण गर्ने रुसी प्रयास विफल बनाइएको युक्रेनको सेनाले जनाएको छ। दक्षिणतर्फको विमानस्थल आसपास भिडन्त भइरहेको सेनाको भनाइ छ। उत्तः विमानस्थलमा रुसी सेनाले हवाई आक्रमण गरिरहेको छ। रुसको सैनिक जहाजलाई खसालिदिएको युक्रेनी सेनाले जनाएको छ।
आफ्नो देशको भविष्यको फैसला भइरहेको उल्लेख गर्दै राष्ट्रपति जेलेन्स्कीले आफ्ना नागरिकलाई मजबुत रहन अपील गरेका छन्। युक्रेन सरकारले आफ्ना नागरिकलाई हतियार दिएको छ। र, पेट्रोल बम बनाउने तरिका सिकाइरहेको छ।
समाचार एजेन्सी एएफपीका अनुसार रुसी सेनाले किभको भिक्ट्री एभेन्यूस्थित युक्रेनी सेनाको अड्डामा आक्रमण गरेको छ। त्यहाँबाट रुसी सैनिकलाई हटाइएको युक्रेनी सेनाले जनाएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी सैनिकले किभको एक विद्युतीय स्टेसनलाई कब्जामा लिने कोशिस गरिरहेका छन्।