सुनसरी- आज चतुर्दशीका दिन दिवंगत पितृको आत्माको चिर शान्तिको कामना गर्दै बराहक्षेत्रमा डेढ लाखभन्दा बढी भक्तजनले शतबीज छरेका छन्।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन शतबीज छर्न देशका विभिन्न स्थानबाट हिन्दू धर्मावलम्बीहरू बराहक्षेत्र आइपुगेको युवा पुराण वाचन योगेश भण्डारीले जानकारी दिए।
सुनसरी र उदयपुर जोड्ने सप्तकोशी नदीमा पुल बनेपछि आन्तरिक र बाह्य पर्यटकको संख्या बराहक्षेत्रमा दैनिक वृद्धि हुँदै गएको छ। पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्न आउने पर्यटकको संख्यामा दिन प्रतिदिन वृद्धि भइरहेको छ।
पुलबाट ४ किलोमिटर टाढा रहेको धर्तीको पहिलो तीर्थस्थल बराहक्षेत्र पुग्नेको सख्या दिन प्रतिदिन वृद्धि भइरहेको बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले जानकारी दिए। ‘वर्षाभन्दा हिउँद लागेसँगै तीर्थालु भक्तजन बराहक्षेत्र मन्दिरमा आउने सख्यामा वृद्धि भइरहेको देखिन्छ,’ उनले भने।
दिवंगत पितृको आत्माशान्तिको कामना गर्दै बराहक्षेत्रमा शतबीज छर्नका लागि १ लाख ५० हजारदेखि २ लाखसम्म भक्तजनहरू आएको श्रेष्ठले जानकारी दिए।
बराहक्षेत्र मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म कात्तिके मेला लाग्ने गर्छ। मेलामा नेपालका विभिन्न जिल्लासहित बराहक्षेत्रमा मेला भर्न भारतका विहार, पश्चिम बंगाल, सिक्किम, दार्जिलिङ र भुटानबाट तीर्थयात्री आउने गरेको बराहक्षेत्र नगरपालिका-१ का वडाध्यक्ष किसन थापाले बताए।
हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल बराहक्षेत्र मन्दिर प्रसिद्ध रहेको मन्दिरका पुजारी किरण भण्डारी बताए। उनले भने, “किंवदन्तीअनुसार पृथ्वी आकाशगंगामा हराएको बखत सम्पूर्ण प्राणी जगतको उद्धार गरेर यस ठाउँमा बराह भगवानको अवतार भई विराजमान भएको मानिन्छ। यही विश्वासका कारण हिन्दू धर्मालम्वीहरू बराहक्षेत्रको दर्शन गर्न आउने गर्छन्।’
बराहक्षेत्रको दर्शन गर्नाले सुख, शान्ति प्राप्ति हुने जनविश्वास छ। धर्तीको पहिलो तीर्थस्थल मानिने बराहक्षेत्रमा पितृहरूको मोक्ष र मनोकांक्षा पूरा हुने जनविश्वास छ। कौशीकी र कोकाहा नदीको संगमस्थलमा स्नान गर्दा पुण्य प्राप्त हुने विश्वास पनि छ।