रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शुरु गरेको सैन्य आक्रमण नेटोसम्म पुग्यो भने नेटोका सदस्य मुलुक पनि प्रत्याक्रमणका लागि तयार रहेको अमेरिकाले बताएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसी राष्ट्रपति पुटिनले युक्रेनको सरकारलाई अपदस्थ गर्न सक्ने आकलन रहेको उल्लेख गरे। अमेरिकी टेलिभिजन एबीसीमा अन्तरवार्ता दिँदै ब्लिंकनले युक्रेनको सरकारलाई अपदस्थ गर्नु पुटिनको योजनाको एक हिस्सा रहेको बताए। र, युक्रेनको राजधानी किभलाई चौतर्फी घेराबन्दीमा पार्ने पुटिनको योजना रहेको उनको भनाइ छ।
पुटिनले युक्रेन मात्र होइन, त्यसभन्दा अगाडि बढेर आक्रमणको योजना बनाएको ब्लिंकनको दाबी छ। यदि त्यो योजना नेटोका सदस्य मुलुकसम्म पुग्यो भने प्रत्याक्रमणका लागि पूर्ण रूपमा तयार रहेको उनले बताए।
‘राष्ट्रपति पुटिन नेटोको हर इन्चको सुरक्षा हुनेछ भन्ने स्पष्ट छन्। यदि उनले एक नेटो सदस्य मुलुकको एक इन्चमा मात्र आक्रमण गरे भने पनि जवाफ कारवाहीका लागि पर्याप्त हुनेछ,’ ब्लिंकनले भने।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि पुटिनको पहिलो निशाना आफू रहेको बताएका छन्। एक भिडियो सन्देशमा उनले भनेका छन्, ‘पुटिन युक्रेनका राष्ट्र प्रमुखलाई राजनीतिक रूपमा नष्ट गर्न चाहन्छन्। दुश्मनको पहिलो निशानामा म छु। र, दोस्रो नम्बरमा मेरो परिवार छ।’