युक्रेनको पूर्वी क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गर्दै त्यहाँ ‘शान्ति स्थापना’का लागि सेना पठाउने घोषणा गरेको रुसमाथि बेलायतले प्रतिबन्धको शुरुवात गरेको छ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसका पाँचवटा बैंक र तीनजना अर्बपतिहरू माथि प्रतिबन्ध घोषणा गरेका छन्।
रुसको उक्त कदम युक्रेनमाथि आक्रमण गरिएबराबर भएको प्रधानमन्त्री जोन्सनले बताए। रुसले स्वतन्त्र राष्ट्र घोषणा गरेका दुई क्षेत्र सन् २०१४ यता पृथकतावादी विद्रोहीको कब्जामा थिए।
रुसका कारण युक्रेनको स्थिति अझ बिग्रियो भने थप नयाँ प्रतिबन्ध लगाउने घोषणा पनि जोन्सनले गरेका छन्।
उनका अनुसार रुसका तीनजना अर्बपतिले बेलायतमा राखेको सबै सम्पत्ति रोक्का गरिएको छ। र, उनीहरूलाई बेलायत आउन प्रतिबन्ध लगाइएको छ। त्यसरी प्रतिबन्ध लागेका अर्बपतिहरूमा गेनेडी टिमचेन्को, बोरिस रोटेनबर्ग र आइगर रोटेनबर्ग छन्।
यस्तै, रोसिया, आईएस, जनरल, प्रामस्ब्याज र ब्ल्याक सी बैंकहरू माथि बेलायतले प्रतिबन्ध घोषणा गरेको छ।