जिउ तान्दै कारागारको
ढोका बाहिर निस्केका
हत्या आरोपितको
स्वागत देख्दा भगवानले
पनि पुष्प वर्षा गरे होलान्
Advertisement
यिनी त महामानव रहेछन्
मुद्दा किन चलाएको
थुन्न किन पठाएको
हरे राम पार्टीका रक्षकलाई
दुःख दिँदा लाज लागेन
महामानवको अबिर जात्रा
गाडीका लस्कर देख्दा
सिंघम सिनेमा
आँखा अगाडि घुम्यो
बडका भलमन्सा आफू ज्युँदो
रहेकोमा भगवानलाई
धन्यवाद दिँदै थिए
भविष्यका महान नेता
यही जुनीमा
स्वतन्त्र भएको देख्न पाउँदा
कानून एक कुनामा लुकेर
आँसु झार्दै थियो
जेलको ताल्चा खोल्ने
प्रहरी निन्याउरो अनुहार लगाएर
एकटक हेरिरहेका थिए
हे बेथितिका भारी नेता
कति अपराध गर्छौ
कति तमासा देखाउँछौ
तिम्रा लठैत जोगाउन
समाजलाई किन दुःखी बनाउँछौ
कुनै दिन त्यो खुँडा, खुकुरी
तिम्रा खप्परमा बर्सने छन्
सुन्ड मुसुन्ड सेना पालेकोमा
ढिलै भए पनि पछुतो मान्ने छौ