काठमाडौं- आज ५ सेप्टेम्बर। विश्व इतिहासका विभिन्न घटनाका कारण आजको दिन स्मरण गरिन्छ। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९७७- भोयजर-१ प्रक्षेपण
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आजकै दिन भोयजर-१ प्रक्षेपण गरेको थियो। यो अन्तरिक्षमा सबैभन्दा टाढा पुगेको मानव निर्मित वस्तु हो। अगस्ट २०२३ मा उक्त अन्तरिक्ष यान पृथ्वीबाट २४ अर्ब किलोमिटर टाढा पुगेको छ।
– सन् १९७२- म्युनिख ओलम्पिक हत्याकाण्ड
प्यालेस्टिनी आतंकवादी समूहले जर्मनीको म्युनिखस्थित अपार्टमेन्टमा आक्रमण गरेर इजरायलका दुई खेलाडीको हत्या गरी ९ जनालाई बन्धक बनाएको थियो। त्यसविरुद्ध गरिएको सुरक्षा कारवाहीमा सबै ९ बन्धक र ५ आतंककारी मारिएका थिए।
– सन् १९४४- बेनेलक्स स्थापना
बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्ग सम्मिलित उपक्षेत्रीय समन्वय (बेनेलक्स) आजकै दिन स्थापना भएको थियो। बेनेलक्समार्फत तीनवटा मुलुकबीच राजनीतिक र आर्थिक सहकार्य गर्ने उद्देश्य थियो।
– सन् १९९७- मदर टेरेसाको निधन
‘मिसनरिज अफ च्यारिटी’की संस्थापक मदर टेरेसा आजकै दिन भारतमा निधन भएको थियो। उनी तत्कालीन अटोमन साम्राज्यको अंग रहेको स्कोपिया (हालको नर्थ मेसेडोनिया)मा जन्मेकी थिइन्। १८ वर्षको उमेरमा उनी आयरल्यान्ड र त्यसपछि भारत आएकी थिइन्। भारतमै उनको अधिकतर जीवन व्यतित भएको थियो। उनको संस्थाले एचआईभी-एड्स, कुष्ठरोग र क्षयरोगविरुद्ध अभियान नै छेडेको थियो। उनलाई सन् १९६२ मा रेमोन म्यागासेसे पुरस्कार तथा १९७९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।