काठमाडौं- बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा हिनामिना प्रकरणका दुईजना मुख्य विचौलियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ ताहाचलका ५७ वर्षीय रामकुमार सुवेदी र ५५ वर्षीया माधवी सुवेदी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगञ्जको टोलीले रामकुमारलाई काठमाडौं कमलादीबाट र माधवीलाई ताहाचलबाट पक्राउ गरेको हो ।
रामकुमारसमेतका प्रतिवादीहरूले विभिन्न व्यक्तिको संलग्नतामा झूठो र किर्तेसमेतको फरक बेहोराको प्रस्ताव पेश गरी कानूनको दुरूपयोग र अपव्याख्या एवं मन्त्रिपरिषदको निर्णयविपरीत बदनियतपूर्वक राज्यलाई हानी हुने गरी नेपाल सरकार समरगंज कम्पनीको नाममा रहेको उक्त सरकारी जग्गा अन्य व्यक्तिहरूलाई फाइदा हुने गरी सार्वजनिक र सरकारी जग्गा हिनामिना र हानी नोक्सानी पुर्याएको लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।