काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार टिकाउनको लागि राष्ट्रपतिले रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेकाे बताएका छन्।
नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले तीन वटा अदालतले गरेको निर्णयकाे मसी सुक्नै नपाउँदै राष्ट्रपतिले रेशम चाैधरीलाई माफी दिएर दण्डहिनता बढाएकाे आराेप लगाए।
‘उत्तरदायित्व पारदर्शिता सुशासन र जवाफदेहिता यी कुराहरु कुनै पनि लोकतन्त्रलाई सुदृढ गर्न बनेको हो। हामी कहाँ कता कता दण्डहिनताको पनि बढ्दै गएको चिन्ता लागिरहेको छ। अहिले भर्खरै हेर्नुस् तीन वटा अदालतले गरेको निर्णयलाई राष्ट्रपति जीले त्यो मसी सुक्नै नपाउँदै रेशम चाैधरीलाई माफी दिनुभयो।’ कोइरालाले भने ‘हामी जस्ताले त्यसलाई कसरी हेर्ने यि कुराहरु अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा सरकार टिकाउनका लागि यी कुराहरु गर्दा खेरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ।’
त्यस्तै उनले कांग्रेस पार्टीभित्र गुट उपगुट अझै पनि रहेकाले गुट उपगुट गरेर अगाडि बढे पार्टी नै समाप्त हुने भन्दै पार्टीभित्रको गुट त्याग्न आग्रह गरे।
‘नेपाली कांग्रेसमा केही गुट छैन भनेर भन्दिन अहिले पनि छ तर अब पनि हामी गुट उपगुट गरेर हामी अगाडि बढ्न थाल्यौं भने हामी समाप्त हुन्छौं’ उनले भने।