Advertisement
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएका एक सब–इन्जिनियर र सशस्त्र प्रहरीका एक हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सब–इन्जिनियर दीपेन्द्रकुमार केसीले कल्भर्ट निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएका थिए । उनलाई १९ असोजमा पक्राउ गरिएको थियो ।
यस्तै, महोत्तरी, गौशाला नगरपालिका–५ रामनगरस्थित सशस्त्र प्रहरीको सुरक्षा बेसमा कार्यरत वरिष्ठ हवल्दार राजीशरण साहले घरमा प्रयोग गर्नका लागि बिस्कुटलगायत घरायसी सामग्री नेपाल–भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस लिएका थिए । उनलाई ८ भदौमा पक्राउ गरिएको थियो ।