नयाँदिल्ली- भारत सरकारले नेपालसहित चार मुलुकमा कोभिसिल्डको ५० लाख डोज पठाउन सेरम इन्स्टिच्युटलाई अनुमति दिएको छ ।
भारत सरकारले नेपाल, बंगलादेश, ताजिकिस्तान र मोजाम्बिकमा ५० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको हो ।
२३ नोभेम्बर अर्थात् मंगलबारदेखि सेरम इन्स्टिच्युटले कोभ्याक्स कार्यक्रमअन्तर्गतको उक्त खोप निर्यात सुरु गर्दैछ ।
नेपाललाई २४ नोभेम्बर अर्थात् बुधबार कोभिसिल्डको पहिलो खेप प्राप्त हुनेछ ।
यसअघि भारत सरकारले सेरम इन्स्टिच्युटमा उत्पादित १० लाख डोज खोप नेपाल, म्यानमार र बंगलादेशलाई उपलब्ध गराएको थियो । गत अक्टोबरमा उपलब्ध गराइएको उक्त खोप भारत सरकारको ‘भ्याक्सिन मैत्री’ कार्यक्रमअन्तर्गत निर्यात भएको थियो ।
सेरम इन्स्टिच्युट अफ इन्डियाका सरकार तथा नियामक मामिला निर्देशक प्रकाशकुमार सिंहले केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै कोभिसिल्डको २४ करोड ८९ लाख १५ हजार डोजको स्टक तयार भएको जानकारी दिएका थिए । र, दिनानुदिन स्टक बढ्दो क्रममा रहेको पत्रमा उल्लेख गरेका थिए।