सङ्खुवासभा– सङ्खुवासभाको मकालु गाउँपालिका-२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको ।
Advertisement
मकालु गाउँपालिका-२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका-२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए। उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए।
विष्टले विदेशी टोलीको भरिया काम गर्दै आएका थिए। “उनी मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिडेका थिए”, वडाध्यक्ष शेर्पाले भने।
उनले विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको बताए। सदरमुकाम खाँदबारीबाट घटनास्थल पाँच दिनको पैदल दूरीमा पर्दछ।
घटनाका बारेमा आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए।