महेन्द्रनगर- भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्रयाक खोलेको छ। दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो।
भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरस्थित राष्ट्रिय राजमार्गदेखि नेपाल-भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले जानकारी दिए।
‘भारतीय पक्षले आफ्नो क्षेत्रमा पर्ने वन फडानी गरेर पहुँचमार्गको ट्रयाक खोलेको छ,’ उनले भने, ‘पारितर्फ नेपाली सीमासम्म जोड्ने सडकको ट्रयाक खोल्ने काम सकिएको छ।’ उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने चकरपुरदेखि नेपाली भूमि गडिगोठसम्म करिब चार किलोमिटरको चार लेनको पहुँचमार्गको ट्रयाक खोलिएको छ।
पहुँचमार्ग निर्माणका लागि गत कात्तिकमा दुई अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार डेढ वर्षभित्र पहुँचमार्ग निर्माणको काम गरिसक्नुपर्छ। पहुँचमार्ग क्षेत्रमा पर्ने भारतीय वनका करिब दुई हजारभन्दा बढी रूख काटेर ट्रयाक खोलिएको हो।
ट्रयाक खोलिएसँगै अब पहुँचमार्ग कालोपत्रेको काम अगाडि बढ्ने छ। यो मार्गले नेपाल-भारतलाई व्यापारिकसँगै यातायात सेवालाई पनि जोड्ने छ। दोधारा चाँदनी नगरपालिका-१ मा सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी छ। दुई दशकअघिदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणस्थलको गत १ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहालले निरीक्षण गरेका थिए।
तीन वर्षमा सुक्खा बन्दरगाह निर्माण गर्नेगरी भारतसँग सम्झौता गर्ने उनले प्रतिबद्धता जनाएका थिए। सुक्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना निर्माण गर्नका लागि भारत सहमत भएको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए।
‘संरचना भारतले बनाउने समझदारी भइसकेको छ, अहिले ईआईए गर्ने काम अन्तिम चरणमा छ,’ उनले भने, ‘फाइल वन मन्त्रालय पुगेको छ, स्कीकृतिको प्रक्रियामा छ।’ उनका अनुसार प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणको क्रममा सुक्खा बन्दरगाहको एओयू गर्ने गृहकार्य भइरहेको छ।
आयोजना निर्माण गर्न मायापुरी र गौरीशंकर सामुदायिक वनको करिब २८० बिघा जमिन प्रयोग हुनेछ। यसअघि दोधारा चाँदनी-७ कञ्चनभोजमा सुक्खा बन्दरगाहका लागि अध्ययन तथा सर्भे भएको थियो। उक्त क्षेत्रमा स्थानीयवासीको विरोध र भारतसँगको पहुँचमार्गमा समस्या हुने भएपछि सुक्खा बन्दरगाह निर्माणस्थल दोधारा चाँदनी-१ लाई प्रस्ताव गरिएको थियो।
सुक्खा बन्दरगाहकै लागि महाकाली नदीमाथि चार लेनको पक्की पुल निर्माण भएको छ। पूर्वपश्चिम राजमार्गको अन्तिम विन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी–१ को मलेरिया नालासम्मको आठ किलोमिटर पहुँच मार्ग निर्माणको काम पनि लगभग अन्तिम चरणमा रहेको छ।
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिम क्षेत्र व्यापारिक रूपमा भारतसँग जोडिनेछ। यसका साथै भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुरसम्म पनि सहज पहुँच हुने र यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुनेमा स्थानीय बासिन्दाको विश्वास छ।