कपिलवस्तु- नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत कपिलवस्तुमा नगर तथा गाउँ अधिवेशन बुधबार हुँदैछ । निर्वाचनको माहोल बढ्दै जाँदा कपिलवस्तुमा क्रियाशील पत्रकारसमेत चुनावी मैदानमा होमिने तयारीमा जुटेका छन् ।
कपिलवस्तुमा रही पत्रकारिता गर्दै आएका कांग्रेस क्रियाशील सदस्यले नगर समितिको पदाधिकारीमा इच्छा देखाएका छन् । जिल्लामा सम्पन्न गाउँ अधिवेशनबाट पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्य, महासंघ प्रदेश सदस्य गोपाल भण्डारी, एकोराव लुम्बिनी प्रदेश अध्यक्ष राजु खराल क्षेत्रीय प्रतिनिधि चयन भएका थिए ।
यसै गरी महासंघ कपिलवस्तुका सदस्य मणिप्रसाद गैरे, नारद कोहाँरदेखी महासंघका संस्थापक सदस्य सरोज अर्याल, गुरुदेव पौडेल, कृष्ण थापा, विनोद अधिकारी, कृष्ण गिरी, शम्भु मालीलगायत १ दर्जन बढी पत्रकार क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका थिए । बुधबार मनोनयन दर्ता गर्नका लागि ५ जना तयारीमा जुटेका छन् । उम्मेदवार हुन चाहने पत्रकारले फेसबुकमार्फत प्रचारसमेत सुरु गरेका छन् ।
ती मध्ये एकोराव प्रदेश अध्यक्ष खरालले शिवराज नगरपालिका सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । खरालले देउवा पक्षबाट उम्मेदवारी दिएका छन् । उनको प्रतिद्वन्द्वीमा पूर्व कार्यवाहक सभापति मधु पोख्रेल रहेका छन् । यसै गरी कपिलवस्तु नगर समितिको उपाध्यक्ष र समावेशी सचिवमा दुई जना पत्रकारले उम्मेदवारी दिने घोषणा गरेको छन् ।
पत्रकार विनोद अधिकारीले कपिलवस्तु नगर उपसभापतिको दावेदारी प्रस्तुत गर्दै प्रचार प्रसार सुरु गरेका छन् । यसै गरी महासंघ जिल्ला सदस्य नारद कोंहारले कपिलवस्तु नगरपालिकाको समावेशी नगर सचिवको उम्मेदवारी घोषणा गरेको छन् । बाणगंगा नगरपालिकाको नगर सचिवमा गुरुदेव पौडेल र बुद्धभूमी नगरपालिकाको सचिवमा कृष्ण गिरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।