काठमाडौं– पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बुधबार पाकिस्तान एकेडेमी अफ लेटर्स (पीएएल)का अध्यक्ष प्रा. डा. युसुफ खुशलाई सरदार रुद्रराज पाँडेको उपन्यास ‘रूपमती’को उर्दू अनुवादित प्रति हस्तान्तरण गरे ।
प्रा. खुशसँग भएको भेटवार्ताका क्रममा राजदूत अधिकारीले दुई मुलुकका साहित्यिक कृति एकअर्काका भाषामा अनुवाद गरेर जनमानससम्म पु¥याउन सकिने संकेतका रूपमा ‘रूपमती’ हस्तान्तरण गरेका हुन् ।
राजदूत अधिकारीले नेपाली साहित्यिक कृतिहरूलाई उर्दू र अन्य पाकिस्तानी भाषाहरूमा अनुवाद गराउन पीएएलको महत्त्वपूर्ण भूमिकाका लागि अनुरोध गरेका थिए । त्यसबाट नेपाली साहित्यलाई पाकिस्तानी नागरिकहरू माझ पु¥याउन ठूलो मद्दत पुग्ने उनले बताएका थिए ।
नेपाली र पाकिस्तानी साहित्यलाई एकअर्का मुलुकका शिक्षा प्रणालीमा पनि सामेल गर्न सकिनेबारे भेटमा छलफल भएको थियो ।
भेटका क्रममा नेपाल र पाकिस्तानबीच साहित्यको क्षेत्रमा सहयोग बढाउनेसम्बन्धी विचार आदानप्रदान भएको थियो । नेपाल र पाकिस्तानबीच आपसी बुझाइ अझ बलियो बनाउन दुई मुलुकबीच साहित्यिक आदानप्रदानका सम्भावनाबारे पनि भेटमा छलफल भएको थियो ।
सन् १९७६ मा स्थापित पीएएल पाकिस्तान सरकारको राष्ट्रिय एकेडेमी हो, जसले पाकिस्तानको साहित्य क्षेत्रमा आफूलाई केन्द्रित गरेको छ । र, यो पाकिस्तानको सबैभन्दा ठूलो विद्वत समाज पनि हो ।