बराहक्षेत्र- ‘चार डाक्टरले दिए सामूहिक राजीनामा’ शीर्षकको समाचार ११ माघमा नेपाली हेडलाइनमा समाचार प्रकाशित भएपछि चतरा अस्पताल व्यवस्थापन समितिको बुधबार, बिहीबार र शुक्रबार बैठक बस्दा समस्याको समाधान निस्केको थिएन।
आज आइतबारका दिन चिकित्सकमाथि दुर्व्यवहार गर्ने युवराज श्रेष्ठले लिखित रूपमा माफी मागेका छन्।
समितिले श्रेष्ठलाई ४ दिनसम्म माफी मगाउन नसक्दा बराहक्षेत्र नगरपालिका–१ र २ बासिन्दा तथा छिमेकी जिल्ला धनकुटा, उदयपुरलगायतका बिरामीहरू बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलगायत अन्य ठाउँमा उपचार गर्न जान बाध्य भएका थिए।
जसले गर्दा गरिब, दुःखी, निमुखा र अन्य बिरामीले सास्ती भोग्नु परेको थियो। स्थानीय युवराज श्रेष्ठले बुधबार आमालाई फलोअपका लागि अस्पताल ल्याएका थिए। आमाको उपचार क्रममा चिकित्सकले अल्सरको औषधि एमोक्सिसिलिन गलत लेखिदिएको भन्दै ओपीडीका कार्यरत चिकित्सक विवेक बर्मा र विकास दासलाई श्रेष्ठले गालीगलोज र दुर्व्यवहार गरेका थिए।
वडा–२ का वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष होमप्रसाद गौतमका अनुसार युवराज श्रेष्ठले लिखित रूपमा माफी मागेपछि सामूहिक राजीनामा दिने चिकित्सकहरूले राजीनामा फिर्ता लिएको जानकारी दिए।
मेडिकल अधिकृत विवेक बर्मा स्वास्थ्य मन्त्रालयले काजमा पठाएका स्थायी चिकित्सक हुन् भने विशेषज्ञ चिकित्सक विष्णु भण्डारी, विकास दास र सुरज थापा मगरलाई व्यवस्थापन समितिले करारमा नियुक्त गरेको हो ।
राजनीतिक संरक्षण पाएका व्यक्तिहरूबाट दुर्व्यवहारदेखि हातपातसम्म हुन सक्ने आशंकामा स्वास्थ्यकर्मीहरू त्रसित छन्।
स्थानीय बासिन्दाले ‘चतरा अस्पतालमा स्वास्थ्यकर्मीहरुलाई ठूलो स्वरमा सही कुराको आवाज बुलन्द गर्दा प्रहरी प्रशासन बोलाएर पक्राउ गरी थुनाउने परिपाटीको अन्त्य हुन आवश्यक रहेको र सानालाई ऐन ठूलालाई चैन कहिलेसम्म?’ भन्ने आरोप लगाएका छन्।
