काठमाडौं- अमेरिकामा बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नि’ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भाव गीतले व्यक्त गरेको छ। यस गीतमा शब्द गणेश शाहीको छ भने संगीत गायक गैरेकै छ। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।
‘चाहिँदैन भो पैसा थुप्रो नि, दरबारै लाग्छ यो सानो झुप्रो नि’, ‘बोकौंला भारी ढाडैमा, तिमीचाहीं हुनु आडैमा, मेटौंला बरु भोक पनि एक छाक माडैमा’, ‘निदाउँला तिम्रो काखैमा, नराख पाखैमा, कटाउँला बरु रात हेरेर आँखैमा’, ‘नजाऊ छोड परदेश, जो छ खाउँला स्वदेशमा’लगायत गीत म्युजिक भिडियोमा समावेश गरिएका छन्।
म्युजिक भिडियोमा दुई युवा दम्पतीको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ। श्रीमानलाई स्वदेशमै छोडेर श्रीमती वैदेशिक रोजगारका लागि जान तयार भएपछिको अवस्थालाई गीतमा प्रस्तुत गरिएको छ। भिडियोमा बिना राउत र सरोज प्रजाको बेजोडको अभिनय हेर्न सकिन्छ। फराज अर्पणले छायांकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।