काठमाडौँ । हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा अलपत्र परेको छ । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मत पेटिका पुग्न नसकेको हो ।
दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं १ का सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपुग्दा मतगणना सुरु हुन नसकेको हो ।
जिल्लाका दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका मतपेटिकाका सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा ल्याइपुर्याएको छ ।
तर, त्यहाँबाट हेलिकप्टरमा ढुवानी गर्नका लागि निर्वाचन आयोगसँग कुरा भइरहेका कारण मतपेटिका रोकिएका हुन् । सर्केगार्डबाट सदरमुकाम सिमकोट पुग्न डेढ दिन पैदल हिँड्नु पर्छ ।
सर्केगार्डमा जम्मा गरिएका मतपेटिका पैदल मार्गबाट ल्याउँदा जोखिम हुने देखिएपछि निर्वाचन आयोगसँग हेलिकप्टरमा ढुवानीका लागि कुरा भइरहेको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए ।
सर्केगार्डमा ताँजाकोटका सात, अदानचुलीका आठ, चङ्खेलीका आठ र सर्केगार्डका ११ वटा मतदान केन्द्रका मतपेटिका छन् ।
यस्तै, उत्तरी नाम्खा गाउँपालिका-६ लिमीमा निर्वाचनमा खटिएका कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र कर्मचारी गरेर ४९ जना बाटोमै रोकिएका छन् ।
न्यालु लेकमा हिउँ जमेकाले पैदल हिँडेर आउन समस्या हुने देखिएपछि उनीहरु पनि हेलिकप्टरको पर्खाइमा छन् ।