काठमाडौँ । साउनयता डेंगु संक्रमणबाट ३२ जनाले ज्यान गुमाएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सोमबार थप एक हजार ५१ जनामा संक्रमण देखिएको छ ।
डेंगु संक्रमण पुष्टि भएकामध्ये पाँच गुणाभन्दा बढी संक्रमित समुदाय स्तरमा रहेको अनुमान महाशाखाको रहेको छ । गम्भीर लक्षणसहितका बिरामी मात्रै उपचारका लागि अस्पताल पुगेकाले अधिकांशले घरमै औषधि सेवन गरेर बसेको पाइएको महाशाखाले जनाएको छ ।
हालसम्म सबैभन्दा धेरै काठमाडौंमा संक्रमण पुष्टि भएको छ । काठमाडौँमा मात्रै आठ हजार ८९६, ललितपुरमा ६ हजार ३५ र मकवानपुरमा दुई हजार २७५ जनामा संक्रमण देखिएको छ ।
सबैभन्दा उच्च संक्रमण देखिएको काठमाडौंका सरकारी र निजी अस्पताला गम्भीर लक्षणसहितका बिरामीको भिड घटेको छैन । डेंगु संक्रमितमा चिकित्सकसँग परामर्श गरेर सिटामोलको प्रयोग मात्रै उपचारको विकल्प भएकाले अस्पताल भर्नादर सामान्य रहेको छ ।
लामखुट्टे नियन्त्रणमा सरकारले चासो नदिँदा डेंगु संक्रमणले भयावह बन्दै गएको चिकित्सकले बताएका छन् ।