काठमाडौँ । जुम्लामा पाँच वटा कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका छन् । चन्दननाथ नगरपालिका ५ मा रहेको गुरुकुल पाठशालाका पाँच कक्षासम्म पढ्ने विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका हुन् ।
जुम्ला सदरमुकाम खलंगास्थित गुरुकुल पाठशालाकी कक्षा ३ मा अध्ययनरत छात्रा नविना अधिकारीले कक्षा कोठा अभाव भएको बताइन् । उनले भनिन्, ‘५ वटा कक्षाका विद्यार्थी एउटै कोठामा बस्ने गरेका छौँ ।’ उनलाई विद्यालय जाँदा सधै कहाँ बस्ने भन्ने चिन्ताले पिरोल्ने गरेको छ ।
‘एउटै कोठामा कोचिएर ५ वटा कक्षाका विद्यार्थी बस्नु पर्छ,’ उनले भनिन्, ‘शिक्षक पनि एउटै हुनु हुन्छ, सबै विषय उहाँबाटै पढ्दा बुझ्न समस्या भएको छ ।’
पाठशालामा नेपाली र संस्कृत दुई वटा भाषाबाट पढाइ हुन्छ । सरकारले एक जनाबाहेक अन्य शिक्षकको व्यवस्थापन नगर्दा गुरुकुलमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ कक्षासम्मका ३० विद्यार्थीको पठनपाठनमा समस्यामा भएको हो ।
२०६८ सालमा प्राथमिक तहको स्वीकृति पाएको पाठशालाले विद्यालय भवन निर्माणदेखि शिक्षक नियुक्त गर्न नसक्दा विद्यार्थीले यस्तो समस्या भोग्नु परेको अभिभावक रमानन्द आचार्यले बताए । उनले भने, ‘चन्दननाथ नगरपालिकाले हरेक वर्ष पाठशालालाई व्यवस्थापन खर्चबापत दुई लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ ।’
नगरपालिकाको ‘सानो बजेट कहाँकहाँ पुर्याउनु ?,’ प्रधानाध्यापक विश्वराज उपाध्यायले भने, ‘पाठशाला दक्ष पुरोहित जन्माउन खोलिएको हो, तर भौतिक संरचना र शिक्षक अभावले आफैंमा अस्तव्यस्त छ ।’
अहिले विद्यार्थीहरू कार्पेटमा बसेर पठनपाठन गरिरहेका छन् । कक्षा १ देखि कक्षा ५ सम्म १४ छात्रा र १६ छात्र छन् । पछिल्लो समय छात्रभन्दा छात्राले ध्यानपूर्वक संस्कृत विषय पढ्न थालेको उनले बताए । ‘पूर्वाधार अभावमा पठनपाठनमा निकै समस्या छ, सरकारले कक्षा ५ सम्म सञ्चालन गर्ने अनुमति त दियो, तर कक्षाकोठा र शिक्षक दरबन्दी दिन सकेन,’ उनले भने ।