काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई फेरि निलम्बन गर्ने तयारी भएको छ ।
स्रोतका अनुसार संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवराम श्रेष्ठ आएसँगै उनलाई फेरि बर्खास्त गर्ने तयारी गरेको हो ।
यसअघि कार्यकारी अध्यक्ष अधिकारीलाई गत असार ६ गते बसेको मन्त्रिपरिषदको बैठकले निलम्बन गरेको थियो । त्यसबेला सरकारले अधिकारीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णयसमेत गरेको थियो ।
अधिकारीमाथि कर्मचारीलाई दूर्व्यवहार गरेको आरोप छ । तत्कालीन पर्यटन मन्त्री प्रेमबहादुर आलेले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
निलम्बनमा परेपछि अधिकारी सर्वोच्च अदालत पुगेका थिए । असार २२ गते निगम अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्चको अन्तरिम आदेशसँगै निगमका अध्यक्ष अधिकारी असार २४ गतेदेखि काममा फर्किएका थिए ।