काठमाडौँ । इन्फोर्समेन्ट निर्देशनालय (ईडी)ले पश्चिम बंगालमा ममता बनर्जी सरकारको मन्त्री पार्थ चटर्जीलाई पक्राउ गरेको छ । शिक्षक भर्ती घोटालामा चटर्जीलाई पक्राउ गरेको हो । करिब २६ घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार पार्थ चटर्जीबाहेक अर्पिता मुखर्जीलाई पनि हिरासतमा लिइएको छ । चटर्जीकी सहयोगी अर्पिताको घरबाट २५ करोड भारतीय रुपियाँ (४० करोड रुपैयाँ) बरामद गरेसँगै उनीहरूलाई पक्राउ गरिएको हो ।
शिक्षक भर्नामा भएको भ्रष्टाचार अनुसन्धानका क्रममा अर्पिताको घरमा निर्देशनालयको टोलीले छापा मारेको थियो । बरामद भएको रकम एसएससी हिनामिनाको अपराधसँग सम्बन्धित हुन सक्ने निर्देशनालयका अधिकारीहरूको आशंका छ ।
एक ईडी अधिकारीले भने, ‘पार्थ र अर्पिता धेरै नजिक छन्, र यस क्षेत्रमा दुर्गा पुजा आयोजक समितिका प्रमुख सदस्य हुन् ।’
पार्थ हाल पश्चिम बंगाल सरकारमा उद्योग तथा वाणिज्य मन्त्री छन् । उनको स्वास्थ्य बिग्रँदै गएपछि शनिबार बिहान चिकित्सकको टोली घर बोलाइएको थियो ।
अर्कोतर्फ तृणमूल कांग्रेसले यो रकमसँग पार्टीको कुनै सरोकार नभएको बताएको छ । तर, विपक्षी भारतीय जनता पार्टी (भाजपा) र सीपीएमले यसलाई भ्रष्टाचारको नमूना भनेका छन् ।