खाडी क्षेत्रका प्रमुख तेल उत्पादक मुलुकहरूले पेट्रोलियम पदार्थको उत्पादन ह्वात्तै बढाउने निर्णय गरेका छन्।
त्यसबाट बजारमा इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको छ। साउदी अरेबिया नेतृत्वको ओपेक प्लस समूहले इन्धनको उत्पादन बढाउने निर्णय गरेको हो।
युरोपेली मुलुकहरूले रुसबाट इन्धन आपूर्तिमा ठूलो परिमाणमा कटौती गर्ने निर्णय गरेलगत्तै ओपेक प्लस समूहले उत्पादन बढाउने फैसला लिएको हो।
युक्रेनमा अत्याचारपूर्ण आक्रमणको विरोधमा रुसमा उत्पादित इन्धनमाथि धमाधम प्रतिबन्ध लगाइएपछि विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको थियो। इन्धनको मूल्य नियन्त्रणमा राख्न ओपेक प्लस समूहमाथि उत्पादन बढाउने दबाब परेको थियो।
समाचार एजेन्सी एएफपीका अनुसार दैनिक चार लाख ३२ हजार ब्यारेल उत्पादन बढाउने अनुमान थियो। तर, समाचार एजेन्सी रोयटर्सले ओपेकको उच्च स्रोत उद्धृत गर्दै जुलाई र अगस्टमा दैनिक ६ लाख ४८ हजार ब्यारेल उत्पादन गर्ने निर्णय ओपेक मुलुकले लिएका छन्।
गत सोमबार युरोपियन युनियनका नेताहरूले रुसबाट आयात हुने इन्धनमा दुई तिहाइभन्दा बढी कटौती गर्ने निर्णय गरेका थिए। र, बेलायतले यसअघि नै सन् २०२२ को अन्त्यदेखि रुसबाट इन्धन आयात पूर्ण रूपमा बन्द गर्ने घोषणा गरिसकेको छ।