युरोपेली मुलुकमा आयात भइरहेको रुसी पेट्रोलियम पदार्थको ९० प्रतिशत हिस्सामाथि प्रतिबन्ध लगाउने तयारी भएको छ। युरोपियन युनियनका नेताहरू नयाँ प्रतिबन्धका बारेमा सैद्धान्तिक रूपमा सहमत भएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनलाई मद्दत गर्ने उद्देश्यले बेल्जियमको राजधानी ब्रसेल्समा दुई दिनदेखि भइरहेको बैठकमा सोमबार उक्त सहमति जुटेको हो।
तीन महिनाअघि रुसले युक्रेनमाथि आक्रमण गरेयता रुसमाथि युरोपेली मुलुकले लगाउन लागेको यो सबैभन्दा कडा प्रतिबन्ध हुनेछ। यससँगै प्रतिबन्धको छैटौं प्याकेजका बाँकी प्रतिबन्ध पनि कार्यान्वयनमा आउने भएका छन्। त्यसमा एउटा रुसको सबैभन्दा ठूलो ‘स्बर बैंक’लाई स्विफ्ट म्यासेजिङ प्रणालीबाट काट्ने निर्णय पनि सामेल छ।
रुसी तेलको ९० प्रतिशत हिस्सा कटौतीको निर्णय तत्काल कार्यान्वयनमा आउने युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स मिसेलले जनाएका छन्। उनका अनुसार तत्काल रुसबाट आयात हुने इन्धनको दुई तिहाइ हिस्सा कटौती हुनेछ। र, त्यसबाट युक्रेन युद्ध अन्त्य गर्न रुसमाथि दबाब बढ्ने अपेक्षा छ।