इन्डोनेसिया- इन्डोनेसियाको पूर्वी पपुवा क्षेत्रमा सोमबार भएको आगलागीमा छ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । मध्य पपुवा प्रान्तको पानियाई सहरमा मध्यरातपछि सुरु भएको आगो तीव्र रूपमा फैलिँदा कम्तीमा ४० पसल, कियोस्क तथा घर नष्ट भएका छन् ।
स्थानीय प्रहरी प्रवक्ता हेनरी जे मनुरुङका अनुसार मृतकमध्ये पाँच वयस्क र छ बालबालिका छन् । मृत्यु भएका बालबालिका दुईदेखि नौ वर्ष उमेरका रहेको उहाँले बताउनुभयो । तीन घण्टाभन्दा बढी समय लागेको आगो नियन्त्रणमा दमकल तथा पानीका फोहरा प्रहार गर्ने सवारीसाधन परिचालन गरिएको थियो । घर तथा पसल बाक्लो रूपमा रहेकाले आगो नियन्त्रणमा कठिनाइ भएको उहाँले बताउनुभयो ।
आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । इन्डोनेसियामा यसअघि पनि घातक आगलागीका घटना भएका छन् । गत डिसेम्बरमा जकार्ताको साततले कार्यालय भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको थियो ।