काठमाडौं- आज १९ जुन। विश्व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९६४- नागरिक अधिकार ऐन अमेरिकी सिनेटबाट पारित
अमेरिकाका १८ जना सिनेटरले नश्ल, रंग, धर्म, लिंग र राष्ट्रीय मूलका आधारमा भेदभावविरुद्ध उक्त विधेयक अगाडि बढाएका थिए। अमेरिकाका दक्षिणी राज्यहरूमा सामाजिक समानता र जातिहरू बीच भाइचारा र एकीकरण ल्याउने उद्देश्यले उक्त विधेयक ल्याइएको थियो। २ जुलाई १९६४ मा उक्त विधेयकमाथि हस्ताक्षर गरेर कानूनको रूप दिइएको थियो।
– सन् १९८७- ईटीएको कार बम विष्फोटमा मारिए २१ जना
स्पेनको बार्सिलोनामा आजकै दिन ईटीएको कार बम विष्फोटमा परी २१ जनाको ज्यान गएको थियो। ‘युस्कादी ता अस्काटासुना (ईसीए)’ नामक बास्क पृथकतावादी संगठनले उक्त विष्फोट गराएको थियो।
– सन् २००२- स्टिभ फोसेटको रेकर्ड ब्रेकिङ बेलुन उडान
अमेरिकी साहसी स्टिभ फोसेटले सन् २००२ मा आजकै दिन रेकर्ड ब्रेकिङ बेलुन उडान भरेका थिए। उनले अस्ट्रेलियाको पश्चिमी क्षेत्र नोर्थामबाट संसार परिक्रमा गर्ने एकल उडान शुरु गरेका थिए। ३ जुलाई २००२ मा ३३ हजार १९५ किलोमिटर यात्रापछि पुनः अस्ट्रेलियाको क्विन्सल्यान्डमा उत्रिएका थिए।
– सन् २०१९- विश्वको ७ करोड जनसंख्या घरबारविहीन
सन् २०१९ मा संयुक्त राष्ट्र संघले एक सनसनीखेज रिपोर्ट सार्वजनिक गरेको थियो, जसमा विश्वको ७ करोड जनसंख्या घरबारविहीन रहेको उल्लेख थियो। उक्त जनसंख्यामध्ये कोही विभिन्न कारणले आफ्नो थातथलोबाट विस्थापित भएको, कसैले अन्य मुलुकमा शरण मागिरहेको र कोही शरणार्थी रहेको रिपोर्टमा उल्लेख थियो। यो ७० वर्षयताकै ठूलो संख्या भएको राष्ट्र संघको भनाइ थियो।
– सन् २०२४- संसारकै पुरानो वाइन
सन् २०२४ मा आजकै दिन वैज्ञानिकहरूले संसारकै पुरानो ह्वाइट वाइन फेला परेको बताएका थिए। स्पेनको कार्मोनामा ईसापूर्वको पहिलो शताब्दीमा उक्त वाइन बनाइएको दाबी वैज्ञानिकहरूको छ।
– सन् २०२४- चर्को गर्मीबाट ५५० हाजीले गुमाए ज्यान
सन् २०२४ मा हज गर्न मक्का पुगेका ५५० जनाले चर्को गर्मीका कारण ज्यान गुमाएका थिए। साउदी अरेबियाको मक्का पुगेका उनीहरूको गर्मीकै कारण ज्यान गएको थियो। त्यतिबेला मक्कामा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।