लोकतन्त्रको चास्नीमा डुबेकाहरू
युट्युबका भिडियोहरू स्क्रोल गर्दे जाँदा अनलाइनखबर पोर्टलको एउटा भिडियोमा आँखा पर्यो। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने एकजना कहलिएका प्राध्यापक लोकतन्त्रको पाठ विषयमा भाषण दिँदै थिए। ०४६ साल यताका दिनहरूमा लोकतन्त्रका सिद्धान्तकार ठानिएका पुज्य गुरुहरू अहिले पाखा परेका छन्। त्यसैले लोकतन्त्रका बारेमा कडा भाषण सम्प्रेषण गर्नमा उनीहरू रुचि राख्छन्। अचानक र रातारात लोकतन्त्रको चिन्ता जागेको छ।
ईस्वी सम्वत् १९८० को दशकमा पश्चिमा मुलुकतिर पढेर आएका स्वनामधन्य ‘पलिटिकल साइन्टिस्ट’हरू कोही त्रिवितिर योगदान दिइरहेका छन, कोही विदेशी पैसोले चल्ने नेपाली ‘थिंक ट्यांक’ चलाइरहेका छन्। अलिक नयाँखाले विद्वानहरू चाही एडीबी, वर्ल्ड बैंकजस्ता दातृसंस्थामा बसेर आफ्ना अनुचरहरूलाई ‘रिसर्च ग्रान्ट’ वितरण गरिरहेका छन् लोकतन्त्रका नाममा। अनौठो त कस्तो रहेछ भने ‘रिसर्च फन्ड’सँगै ‘रिसर्च फाइन्डिङ्स’ पनि उपलव्ध गराइने रहेछ। यो कुरा पंक्तिकारले हालैका दिनहरूमा त्रिविमै अध्ययन गर्ने क्रममा देखेका/झेलेका कुरा हुन्। यसैको परिणाम ‘कागजी लोकतन्त्र’को जगजगी भएको हो।
अहिले, लोकतन्त्रको बुझाइमा समस्या आएको छ। युवालाई वास्तविक जीवनमा अनुभव गर्ने किसिमको लोकतन्त्र चाहिएको हो। पछिल्लो समयका युवाले लोकतन्त्रलाई ‘इन्पुट’ भन्दा पनि ‘आउटपुट’का आधारमा मूल्यांकन गर्न थालेका छन्। उनीहरूका लागि लोकतन्त्रको सफलताको मापन चुनाव सम्पन्न भयो कि भएन भन्नेभन्दा पनि नागरिकको जीवनस्तरमा कति सुधार आयो भन्ने विषयले निर्धारण गर्छ।
प्राध्यापक र विद्यार्थीबीचको दूरी
सन् असीको दशकतिर एमए, पीएचडी गरेका प्राध्यापकहरू लोकतन्त्रको प्यारामिटर लिएर बसेका छन्। तिनको हातमा एउटा लामो लिस्ट छ; यो यो भए लोकतन्त्र हुन्छ र त्यो त्यो भए लोकतन्त्र हुंदैन भन्ने खालको। यस्ता प्राध्यापकहरूले लामो समयदेखि लोकतन्त्रलाई मुख्यतः संस्थागत र प्रक्रियागत व्यवस्थाका रूपमा व्याख्या गर्दै आएका छन्। यस अवधारणाअनुसार लोकतन्त्र भन्नाले संविधानको सर्वोच्चता, राजनीतिक दलहरूको प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार, प्रतिपक्षको भूमिका, संसदको प्रभावकारिता, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, संघीयता तथा शक्ति पृथकीकरणजस्ता संरचनात्मक पक्षहरू बुझिन्छन्। यति भएपछि उहाँहरूको लोकतन्त्र खाँट्टी हुने नै भयो।
कागजी लोकतन्त्रले नेपालमा जेनजी आन्दोलनलाई निम्त्यायो। बुढाखाडा नेताहरू विगतका आफ्ना कुकर्म सम्झँदैनन्; तिनले ‘अल्गोरिदम’ भन्ने शब्द सिकेका छन्। अल्गोरिदमले हावामा अथवा शून्यतामा काम गर्दैन र यो निरपेक्ष छैन भन्न कोही चाहँदैन। वश, सबै दोषजति अल्गोरिदममाथि खन्यायो र पानीमाथिको ओभानो बन्यो। यस्तै यस्तै कारणले भारतमा कक्रोचहरूको उदय भयो हालसालै।
लोकतन्तन्त्रका व्याख्याकार, लोकतन्त्रको भाष्यकार, सिद्धान्तकार, लोकतन्त्र संस्थागत गर्न भनेर पैसो खन्याउने ‘कार’, दलका नेता, विश्वविद्यालयका प्राध्यापकहरूले के बुझ्न जरुरी भइसक्यो भने लोकतन्त्रको ज्ञानमाथि अब उहाँहरूको एकाधिकार छैन। स्यामुअल हन्टिङ्टन सबैले पढ्न सक्छन्, फरिद जकरियाका क्लिप जुन युट्युबमा उपलब्ध छन् सबैले सुन्न सक्छन्। चीनमा लोकतन्त्र छ कि छैन, अमेरिकामा लोकतन्त्र कति मात्रामा छ, राष्ट्र-राज्यहरू किन असफल हुन्छन्, लोकतन्त्र किन कसरी मर्छ नामका पुस्तकहरू होस् कि युवल नोह हरारीका सन्दर्भहरू सबै औंलाका टुप्पामा आइसके। प्राध्यापक र विद्यार्थीबीचको दूरी छोटिइसकेको छ। प्राध्यापक गुरुहरूले आफ्नो इज्जत आफैं जोगाऊन्। अवकाश लिऊन्।
वास्तवमा नेपालमा लोकतन्त्रबारे आज एउटा रोचक वैचारिक बहस विकसित हुँदै गएको छ। यो बहस राजनीतिक दल र राजतन्त्रबीचको होइन, वामपन्थी र दक्षिणपन्थीबीचको पनि होइन। यो बहस लोकतन्त्रलाई कसरी बुझ्ने भन्ने विषयमा केन्द्रित छ। एकातिर लोकतन्त्रलाई मुख्यतः विधि, प्रक्रिया, संस्था र संवैधानिक संरचनाको रूपमा हेर्ने परम्परागत दृष्टिकोण छ भने अर्कोतिर लोकतन्त्रलाई नागरिकले दैनिक जीवनमा अनुभव गर्ने सेवा, सुशासन र परिणामको आधारमा मूल्यांकन गर्ने नयाँ पुस्ताको दृष्टिकोण देखिन्छ।
युवाको परिणाममुखी लोकतन्त्र
पछिल्ला वर्षहरूमा विशेष गरी सामाजिक सञ्जालको विस्तार, विश्वव्यापी सूचना पहुँच तथा जनप्रतिनिधिहरूको प्रत्यक्ष मूल्यांकन गर्ने संस्कृतिको विकाससँगै नयाँ पुस्ताले लोकतन्त्रलाई फरक दृष्टिले हेर्न थालेको छ। उनीहरूका लागि लोकतन्त्र केवल चुनाव गराउनु मात्र होइन।
– घरको धारामा नियमित पानी आयो कि आएन ?
– सास फेर्ने हावा कत्तिको स्वच्छ छ ?
– सडक सफा भयो कि भएन ?
– ट्राफिक व्यवस्थापन सुधारियो कि सुधारिएन ?
– अस्पतालमा उपचार सहज भयो कि भएन ?
– पासपोर्ट बनाउन महिनौं लाइन बस्नुपर्यो कि परेन ?
– युवाले रोजगारी पाए कि पाएनन् ?
– भ्रष्टाचार घट्यो कि घटेन ?
– सरकारी कार्यालयमा नागरिकले सम्मानजनक व्यवहार पाए कि पाएनन् ?
यी प्रश्नहरूको उत्तर नकारात्मक छ भने उनीहरूका लागि लोकतन्त्र कागजमा मात्र सीमित भएको ठहरिन्छ। बालेनको लोकप्रियताको मुख्य कारण कुनै ठूलो वैचारिक सिद्धान्त होइन। बरु उनी परिणाममुखी शासनको प्रतीक बनेका छन्। धेरै युवाले उनलाई लोकतन्त्रको वैकल्पिक स्वरूपका रूपमा होइन, लोकतान्त्रिक शासनको प्रभावकारी कार्यान्वयनकर्ताका रूपमा हेरेका छन्। यसैले कतिपय बौद्धिक वर्गले प्रक्रियागत कमजोरी वा कानूनी प्रश्नहरू उठाउँदा युवाले त्यसलाई सधैं स्वीकार गर्दैनन्।
प्रक्रिया र परिणामबीचको द्वन्द्व
तर, यहाँ एउटा महत्त्वपूर्ण सावधानी पनि आवश्यक छ। यदि केवल परिणामलाई मात्र महत्त्व दिने हो भने लोकतन्त्र सजिलै लोकप्रियतावाद (पपुलिजम) तर्फ जान सक्छ। कुनै नेता लोकप्रिय छ भन्दैमा कानूनी प्रक्रिया, न्यायिक समीक्षा वा नागरिक अधिकारहरू कमजोर पार्न मिल्दैन। अर्कोतर्फ केवल प्रक्रिया मात्र सही छ भन्दैमा नागरिकको पीडा, सेवा प्रवाहको असफलता र सुशासनको अभावलाई बेवास्ता गर्न पनि मिल्दैन। लोकतन्त्रमा प्रक्रिया र परिणाम दुवै आवश्यक हुन्छन्। प्रक्रिया नभए शक्ति निरंकुश बन्छ; परिणाम नभए लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुन्छ।
आज नेपालको मुख्य समस्या लोकतन्त्र छ कि छैन भन्ने होइन। मुख्य समस्या लोकतन्त्रले नागरिकलाई कस्तो अनुभव गराइरहेको छ भन्ने हो। राजनीतिक दलहरूले तीन दशकसम्म लोकतन्त्रलाई मुख्यतः संरचना र प्रक्रियाको दृष्टिले व्याख्या गरे। तर, नयाँ पुस्ताले त्यसलाई सेवा, सुशासन र नतिजाको दृष्टिले मूल्यांकन गर्न थालेको छ। वास्तवमा यी दुई दृष्टिकोण एकअर्काका विरोधी होइनन्। लोकतन्त्रको संस्थागत स्वरूप र लोकतन्त्रको परिणाममुखी स्वरूप परस्पर पूरक हुन्।
त्रिविका प्राध्यापकहरूले पढाएको लोकतन्त्रले राज्यलाई कानूनी र संवैधानिक आधार दिन्छ तर उहाँहरूको हिजो र आजको लोकतन्त्रको मापदण्ड र व्याख्यामा फरक आउन हुँदैन। हिजो सबै ठीक देख्नेहरूले आज एकाएक क्रान्तिकारी बन्न खोज्दा समस्या आएको हो। ती प्राध्यापकहरू आफ्नो जीवनको उत्तरार्द्धमा छन्, उनीहरूलाई केही हतारो छैन। अहिलेका युवालाई भविष्यको ‘एन्जाइटी’ छ। त्यसैले उनीहरू छिटो परिणाम खोज्छन्। उनले चाहेको लोकतन्त्रले त्यसै राज्यलाई नागरिकप्रति उत्तरदायी बनाउन खोज्छ।
निष्कर्ष
नेपालको लोकतन्त्रको भविष्य प्रक्रिया मात्र बचाउने वा परिणाम मात्र खोज्ने कुनै एक पक्षमा निर्भर छैन। लोकतन्त्र तब बलियो हुन्छ, जब संविधान, संसद, न्यायपालिका र निर्वाचनजस्ता संस्थाहरू सुरक्षित रहन्छन्। र, साथसाथै नागरिकले आफ्नो जीवनमा त्यसको प्रत्यक्ष लाभ पनि अनुभव गर्छन्।
आजका युवाले लोकतन्त्र अस्वीकार गरेका होइनन्। उनीहरूले लोकतन्त्रको अर्थ पुनः परिभाषित गर्न खोजेका छन्। उनीहरूको सन्देश स्पष्ट छ, “हामीलाई लोकतन्त्रको संरचना पनि चाहिन्छ। तर, त्यसले नागरिकको जीवनमा अर्थपूर्ण परिवर्तन पनि ल्याउनुपर्छ।”