सिंहदरबारका कागले
आन्दोलनपछि हराएका
सिंहदरबारका सिंहलाई
खोज्ने निधो गरे
Advertisement
कस्ता होलान्
के गरी रा होलान्
खोज्दै जाँदा
त्यहाँका सिंह टुकुचाको ढलमा
लुकेको फेला पारे !
सिंहदरबारको जिम्मा लिएकाले
तिमीहरूलाई
जोगाउन आएनन्
खोज्न आएनन्
दाजु किन लुकेको
यस्तो फोहोर ठाउँमा ?
सिंहले रुँदै भने
कहाँ आउनु उनीहरू
हेलिकप्टरमा उडी
आफैं जोगिँदै ठिक्क थिए !
डकैतीको पनि हद हुन्छ
ढोकामा हामीलाई
साक्षी राखी
गर्नसम्म गरे
अप्ठ्यारो पर्दा हामीलाई
त्यत्तिकै छाडेर भागे !
कागले भने- हिँड दाजु
जाउँ सिंहदरबार
सिंहले भने- तिनीहरू फेरि
फर्की आउने भन्दैछन्
त्यस्तो हो भने
यो टुकुचाकै बास जाती !