नयाँदिल्ली- धेरै अध्ययनहरूले भन्छन्, आमाबाबुको झगडाले बच्चाहरूमा असुरक्षा, रिस, बेचैनी र डर जस्ता भावनात्मक परिवर्तनहरू निम्त्याउन सक्छ। यदि यो अवस्था लामो समयसम्म रह्यो भने त्यसले उनीहरूको आत्मविश्वास, सामाजिक विकास र मानसिक स्थिरतालाई पनि कमजोर बनाउन सक्छ।
राष्ट्रीय चिकित्सा पुस्तकालयमा प्रकाशित एक अध्ययनअनुसार आमाबाबुको झगडाले बच्चाहरूमा डिप्रेसन र चिन्ताजस्ता मानसिक समस्याहरूको जोखिम बढाउन सक्छ। यसले उनीहरूलाई असुरक्षित पनि महशुस गराउँछ।
त्यसैले याद गर्नुहोस्- बच्चाहरूलाई मानसिक रूपमा स्वस्थ र खुशी बनाउन आमाबाबुले पहिले आफूलाई खुशी र सन्तुलित बनाउनु महत्त्वपूर्ण छ। यदि तपाईं आफ्नो बच्चालाई राम्रो र आत्मविश्वासी बनाउन चाहनुहुन्छ भने समझदारी र सम्मानका साथ आफ्नो सम्बन्धलाई सम्हाल्नु तपाईंको पहिलो जिम्मेवारी हुनुपर्छ।
जीवनमा कुनै पनि परिवर्तन ल्याउन वा केही सुधार गर्न प्रेरणा धेरै महत्त्वपूर्ण छ। यो सम्बन्धमा पनि उत्तिकै सत्य हो। यदि तपाईं आफ्नो सम्बन्ध सुधार गर्न चाहनुहुन्छ भने यो सम्बन्ध तपाईंको लागि बहुमूल्य छ भन्ने भावनाबाट शुरु गर्नुहोस्।
बच्चालाई सुधार्न आफैंलाई सोधौं यी प्रश्न
– बच्चाको दिनभरको दिनचर्या कस्तो हुन्छ ?
– के जुन दिन हामीबीच झगडा हुन्छ, त्यस दिन बच्चाहरू ज्यादा जिद्दी गर्छन् ?
– के कुनै खास मौकामा बच्चामा उदासीपन र आक्रामकता देखिएको हुन्छ ?
– जब घरमा कुनै नातेदार आउँछन्, बच्चाहरू आफ्ना साथीसँग हुन्छन् कि उनीहरूको व्यवहार बदलिन्छ ?
– के हामीले बच्चालाई पर्याप्त समय दिएका हुन्छौं ?
– बच्चाहरूले हाम्रो सामुन्ने कस्तो व्यवहार गर्छन् ?
बच्चालाई माया दिने १० टिप्स
– बच्चाहरूसँग खेल्ने समय निकालौं
– कामकाजी भए पनि मातापिताले बालबालिकालाई हेरचाह गर्नेहरूको भरमा मात्र छाड्नु हुँदैन
– कार्यालय समयमा यस्तो समय तय गरौं, मातापितामध्ये एकजना बच्चाहरूसँग रहने प्रयास गरौं
– यदि हजुरबा-हजुरआमा बच्चाहरूसँग रहन्छन् भने उत्तम विकल्प हो
– बच्चाको कुरा ध्यानसँग र पूरै सुनौं, बीचमै गाली नगरौं
– यदि बच्चाले जिद्दी गरिरहेको छ भने त्यसको कारण पत्ता लगाउने प्रयास गरौं
– गल्ती गर्नासाथ मारपिट नगरौं
– बालबालिकाका स-साना प्रयासहरूलाई तारिफ गरौं
– बच्चाहरूलाई मोबाइल र टेलिभिजनमा ज्यादा समय बिताउन नदिऊँ
– जस्तो व्यवहार तपाईं बच्चाबाट चाहनु हुन्छ, त्यस्तै व्यवहार आफूले पनि गरौं
भास्कर डट कमबाट