नयाँदिल्ली- आजको व्यस्त जीवन र अस्वस्थ जीवनशैलीका कारण महिलाहरूमा अनियमित महिनावारीको समस्या द्रुत गतिमा बढ्दै गएको छ।
सन् २०२३ मा विश्वको पहिलो आयुर्वेद फेमटेक ब्रान्ड ’गाइनोवेडा’ले एक सर्वेक्षण गरेको थियो। भारतमा १८-४५ वर्ष उमेरका ३ लाखभन्दा बढी महिलाहरूले यस सर्वेक्षणमा भाग लिएका थिए। सर्वेक्षणको उद्देश्य महिलाहरूको महिनावारी स्वास्थ्यसँग सम्बन्धित वास्तविक अवस्था बुझ्नु थियो।
सर्वेक्षणले ७० प्रतिशत महिलाहरूले महिनावारीको समयमा धेरै समस्या सामना गर्ने खुलासा गरेको छ। यसमा अनियमित महिनावारी, धेरै वा धेरै कम रक्तस्राव, महिनावारीको समयमा असहनीय पीडाजस्ता अवस्थाहरू समावेश छन्।
भारतमा ठूलो संख्यामा महिलाहरू महिनावारीसँग सम्बन्धित समस्याहरूबाट पीडित छन्, जसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि गम्भीर खतरा बन्न सक्ने अध्ययनले देखाएको छ। यद्यपि, महिलाहरूले आफ्नो जीवनशैली र आहारमा केही परिवर्तन गरेर धेरै हदसम्म यो समस्याबाट छुटकारा पाउन सक्छन्।
अनियमित महिनावारीका कारण
– मोटोपन या ओभरवेटको समस्या
– पर्याप्त निन्द्रा नपुग्नु
– गतिहीन जीवनशैली
– आवश्यकताभन्दा ज्यादा शारीरिक काम
– अस्वस्थ खानपान
– हर्मोनहरू असन्तुलित हुँदा
– अत्यधिक मदिरा र क्याफिनको सेवन
– अत्यधिक तनाव
– कुनै खास मेडिकल अवस्थाका कारण
– जन्म निरोधक पिल्सहरू खाँदा
नियमित महिनावारीका लागि जीवनशैली परिवर्तन
– डाइटमा हरिया सागपात, फललगायत सामेल गरौं
– दैनिक कम्तिमा ३० मिनट शारीरिक व्यायाम गरौं
– हाई इन्टेनसिटी वर्कआउट गर्नबाट बचौं
– दैनिक ७-८ घण्टा गहिरो निन्द्रा लिऊँ
– तनाव कम गरौं। त्यसका लागि दैनिक मेडिटेसन गरौं।
– मोटोपन बढ्न नदिऊँ। शरीरको तौल सन्तुलित राखौं।
– धुम्रपान र मध्यपानबाट टाढा बसौं।
– डाइटमा नियमित अदुवा, मेवा, अनारस, मेथी, दालचिनी, सोप, बेसार लिने गरौं।
– यस्तै, डिप फ्राइ खानेकुरा, ज्यादा चिल्लो र मसालेदार खाना, प्रोसेस्ड र जंक फुड, अत्यधिक गुलिया खानेकुरा, अत्यधिक नुन तथा मदिरा र क्याफिनबाट टाढा बसौं।