मलाई बर्खा मन पर्छ
पातमा परेको पानीको आवाज मन पर्छ
पानी परेपछिको माटोको बास मन पर्छ
भ्यागुताको ट्यार ट्यार
‘सेकुवा’ ओढेर
खेत जोत्दै गरेका किसानको
आवाज मन पर्छ
रुझ्दै हेल्का टिप बोकेर कुलामा
माछा मार्दै गरेका गाउँलेको हुल
खेतमा माछा मार्न ढडिया
लगाउँदै गरेको लम्बु चौकिदार
प्लास्टिक ओढेर कुलामा
बल्छीले माछा मार्दै गरेका केटाकेटी
खेतको हिलोमा गाडिएर
‘बाधी’ टुटेको चप्पल
आँगनको हिलोमा चिप्लेर
लडेको सम्झना मन पर्छ
साँडेपानी घरको झ्यालबाट हेर्दै
एकहोरो परिराखेको झरी
गाउँघरका छप्परबाट निस्किँदै गरेको धुवाँ
कतै पर खेतमा छेगरहुवाले बजाएको पिंग्री
पक्की कुवाको सानो चटियामा
क्वाँक्वाँ गर्दै चरिराखेका हाँस
भान्साको पालीमा लुत्रुक्कै भिजेर
ओत लागेका कुखुरा
काठमाडौंको कौसीमा बसेर
एकछिन भए पनि
मलाई मेरो साँडेपानीको बर्खा
सम्झन मन पर्छ
अर्थ :
सेकुवा- मालुको पातको गाउँले छाता
बाधी- चप्पलको फित्ता
छेगरहुवा- बाख्रा चराउने